हेटौंडाः नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्वास्थ्य विमा व्यवस्था सेवा एमालेको सरकारले ल्याएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सघं नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न, पैसा नभएर उपचार गर्न नपाउने अवस्थाको अन्त्य गर्न एमाले सरकारले बिमा व्यवस्थाका कार्यक्रमहरु ल्याउन सफल भएको उहाँले दाबी गर्नुभयो । एमाले सरकारमा हुँदा बामगती प्रदेशमा मावि तहका विद्यालयहरुमा एक विद्यालय एक नर्स कार्यक्रम ल्याउन सफल भएको उहाँले बताउनुभयो । आगामी दिन आधारभुत तहका विद्यालयमा पनि नर्सिङ व्यवस्था गर्ने र त्यो एमालेको सरकार हुँदा मात्र सम्भव हुने उहाँको भनाई छ । अहिले देशका सबै स्थानीय तहमा दक्ष चिकित्सक जनशक्ति नभएको उहाँले औल्याउँनुभयो । जसले गर्दा सर्वसाधारणले स्वास्थ्य सेवा गुणस्तरिय ढङ्गबाट प्राप्त गर्न नसकेको अवस्था रहेको उहाँको भनाई छ । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उहाँको भनाई छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी सघं नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक राम हरि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।