Home मुख्य समाचार निर्वाचन व्यवस्थित गर्न प्रदेश सभा सदस्यको माग

निर्वाचन व्यवस्थित गर्न प्रदेश सभा सदस्यको माग

प्रदेश सभा सदस्य जगतबहादुर सिंखडा प्रदेश सभा बैठकमा सरकारको लगानी रहेको योजनाहरु अलपत्र रहने गुनासो गर्नुहुदै ।

हेटौंडाः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउनु पर्नेमा बागमती प्रदेश सभाका सदस्यहरुले जोड दिएका छन् । मंगलबार बागमति प्रदेश प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले निर्वाचन व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आगामी बर्ष चुनावी बर्ष भएको भन्दै प्रदेश सभा सदस्य रमेश पौड्यालले निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा जायज नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको मेयरको उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भनिएको छ । त्यो रकमले पुग्छ भन्ने विश्वास लाग्छ ? मेयरले टिकट लिन पार्टीमा लगानी गर्नुपर्छ । भोज भतेर खुवाउनु पर्छ ।” उम्मेदवारले पार्टी भित्र र बाहिर लगानी नगरे टिकट पाउन मुस्किल रहेको उहाँको भनाइ छ । मेयर उम्मेदवार हुन ४ करोड भन्दा धेरै खर्च हुने उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “हाम्रो निर्वाचन प्रणालीमा भयंकर रोग छ । त्यो रोगको उपचार गर्नुपर्छ ।” निर्वाचनको खर्च पारदर्शी गर्ने परिपाटी विकास हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

यस्तै, प्रदेश सभाका अर्का सदस्य नरोत्तम वैद्यले आगामी निर्वाचनमा कागजकै मत राखेर चुनाव गर्नु दुखद् रहेको धारणा राख्नुभयो । उहाँका अनुसार विद्युतीय मेसिन राखेर चुनाव गराउन सकेमा सरकारको अर्बौ रकम बचत हुन्छ । मेसिनबाट चुनाव गराउँदा पारदर्शिताका साथै चुनावी परिणाम छिटो आउने उहाँको भनाइ छ । यस्तै, प्रदेश सभा सदस्य शोभा शाक्यले स्थानीय चुनाव नजिकै आएको भन्दै राजनीतिक दलहरु चुनावको भोज भतेरमा दगुरेको आरोप लगाउनुभयो । उहाँले आम नागरिकलाई मूल्य वृद्धिले ठूलो मार परेको भन्दै तीन तहको सरकारले बजार मूल्य नियन्त्रण र व्यवस्थित गर्नतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश सभा सदस्य राज काजी महर्जनले ऐतिहासिक सम्पदाको चोरी गर्नेलाई कडा कारबाही गर्न ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य जगतबहादुर सिंखडाले सरकारको लगानी रहेको योजनाहरु अलपत्र रहने गुनासो गर्नुभयो । उहाँले धादिङको भिपुराश्वर गाउँपालिका जोड्ने पुलमा सरकारले बजेट निकासा गरेपनि अलपत्र अवस्थामा रहेको जानकारी गराउनुभयो । बैठकको शून्य समयमा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङसहित ६ जना सदस्यले आफ्नो भनाइ राखेका थिए । आगामी बैठक अर्को सूचना नभएसम्म स्थगित गरिएको सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दफावार छलफलमा ३ विधेयक
हेटौंडाः बागमति प्रदेशको मंगलबार बसेको बैठकले ३ वटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सभामा प्रस्ताव पेश गर्नुभएको ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

बैठकले प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान व्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

Exit mobile version