भविष्यका कर्णधार मानिने बालबालिकाको हक अधिकारका लागि सबै पक्षको चासो र चिन्ता आवश्यक छ । राज्यले पनि पछिल्लो समय बालबालिकाको हक हितका लागि आवश्यक कानुन निर्माणदेखि विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ । बालबालिकाको हक अधिकार प्रत्याभूतिका लागि राज्यले अघि सारेको महत्वपूर्ण नीतिमध्ये एउटा हो, बालमैत्री स्थानीय शासन । संघीय सरकारले देशका प्रत्येक स्थानीय तहलाई बालमैत्री बनाउन आवश्यक सूचक निर्धारणका साथै त्यसको प्राप्तिका लागि सहयोग गर्दै आएको छ । देशभरका ७ सय ५३ वटै स्थानीय तहबीच बालमैत्री घोषणा गर्न प्रतिस्पर्धा भइरहेको छ । यसबाट मकवानपुर जिल्लाका स्थानीय तह पनि अछुतो छैनन् ।
मकवानपुरका १० वटा स्थानीय तहमध्ये दुईवटा बालमैत्री घोषणा भइसकेका छन् भने एउटा घोषणाको अन्तिम अवस्थामा छ । जिल्लाको मनहरी गाउँपालिकाले २०७६ पुसमै सबैभन्दा पहिला आफ्नो पालिकालाई बालमैत्री घोषणा गरेको हो । राज्य पुनर्संरचना र तीन तहको संघीय शासन सुरु भएपछिको बालमैत्री घोषणा गर्ने मनहरी गाउँपालिका सम्भवतः देशकै पहिलो स्थानीय तह हो । मनहरी गाउँपालिकापछि मकवानपुरको बकैया गाउँपालिकाले पनि आफूलाई बालमैत्री घोषणा गरिसकेको छ । शुक्रबारमात्रै मकवानपुरगढी गाउँपालिकाले आफ्ना सबै वडालाई बालमैत्री घोषणा गरेको छ । आगामी चैत १२ गते गाउँपालिकालाई बालमैत्री घोषणा गराउने तयारीमा मकवानपुरगढी रहेको छ । जिल्लाका ईन्द्रसरोवर, भीमफेदीलगायत गाउँपालिका पनि बालमैत्री घोषणाको तयारीमा जुटिरहेका छन् ।
नेपालमा २०६८ असार २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट निर्धारित विभिन्न ३९ सूचक पूरा गरेका तत्कालीन स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न थालिएको थियो । बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका निर्धारित सूचक पूरा गर्ने स्थानीय तहहरु बालमैत्री घोषणा गर्न सकिने व्यवस्था थियो । सोहीबमोजिम केही स्थानीय निकायहरु बालमैत्री घोषणा पनि गरिएका थिए । नयाँ संविधानअनुकूलको राज्य पुनर्संरचना र संघीयता कार्यान्वयनपछि फेरि बालमैत्री घोषणाको प्रतिस्पर्धाले कतिपय स्थानीय तहहरुमा निर्धारित सूचकहरु पूरा नभइकनै बालमैत्री घोषणाको क्रम बढ्ने सम्भावना देखिएको छ । सम्बन्धित पालिका र जनप्रतिनिधिले बालमैत्री घोषणा गर्न रहर र हतार गर्नुको सट्टा निर्धारित सूचकहरु प्राप्तिमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।
बालमैत्री घोषणा गर्न ६ महिनासम्मको शिशुलाई स्तनपान गराएको हुनैपर्ने, पाँच वर्ष मुनिका सबैको जन्मदर्ता भएको हुनुपर्ने, स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको हुनुपर्ने, कक्षा एकका लागि विद्यालय जाने उमेर समूहका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको हुनुपर्नेजस्ता सूचक व्यवहारमा पूरा गर्नु कठिन हुन्छ । नेपालमा हुने गरेका खुला दिसामुक्त, पूर्ण साक्षर, बालश्रममुक्त, बालविवाहमुक्त, पूर्ण खोपयुक्त घोषणाभन्दा बालमैत्री घोषणा फरक बन्नु आवश्यक छ । बालमैत्री घोषणाको औचित्य पुष्टि हुनैपर्छ । बालमैत्री घोषणाको रहर र हतारले निर्धारित सूचकहरु कागजीरुपमा मात्र पूरा हुनु विडम्बना हुनेछ । अरुले गरेको देखेर र कसैलाई रहर लागेकै भरमा बालमैत्री वडा वा पालिका घोषणामा हतार गर्नु उचित हुँदैन ।
