नेपालमा उमेरगत रुपमा अध्यापन गराउने पाठ्यक्रम भए पनि शिक्षकहरुलाई व्यवहारिक ज्ञानको अभाव छ । घरपरिवारमा पनि नानीहरुलाई सबैभन्दा पहिला लेख्न लगाउने गरिन्छ भने विद्यालयमा पनि यही पद्दति छ । बालबालिकाहरुको रुचिभन्दा अभिभावकहरुको चाहनाअनुसार बालबालिकाले सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । जसले गर्दा बालमस्तिष्कमा नकारात्मक असर पर्दै आएको विज्ञहरुले बताउने गरेका छन् । अध्ययनहरुका अनुसार बालबालिकालाई लेख्नभन्दा पहिला खेल्दै सामाजिकीकरण हुने बानीको विकास गराउनु आवश्यक छ । अरुले गरेको देखेपछि साना नानीहरु आफैं लेख्न पढ्न अग्रसर हुन्छन् । तर विद्यालय गएकै दिनदेखि मात्र हैनकि घरमा पनि लेख्न सिकाउने गरिँदै आएको छ । यो गलत अभ्यास भएको प्रमाणित भएको छ । यसका लागि शिक्षकहरुलाई मन्टेश्वरी तालिम आवश्यक छ ।


बालबालिकामा आत्मविश्वास जगाउनुपर्दछ । परिवर्तित समाज एवम् अन्य व्यक्तिहरूप्रति उनीहरुमा रहेको फरक भाव हराउँदै जाने र नजिकपनका कारण अरुले गरेका कामप्रति उत्पे्ररित हुन सक्छन् । बालबालिकामा सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा सन्तुलन कायम गर्दै सामाजिक तथा व्यवहारिक मूल्य–मान्यताका आधारमा व्यवहारिक ज्ञान प्रदान गर्नु आजको आवश्यकता हो । असल नागरिक बनाउने हो भने बालबालिकालाई जबरजस्ती पढ्न लेख्न भन्दा अन्य मानिसको व्यवहार, सिकाई, ज्ञानसँग नजिक बनाउन आवश्यक छ । यसका लागि अभिभावकदेखि शिक्षकमा बाल शिक्षण पद्दतिबारे जानकारी हुनुपर्दछ । अनुभवका आधारमा शिक्षकहरुले श्रृजनात्मक बन्न सक्नुपर्दछ । शिक्षकको प्रमाणपत्र पाएपछि कस्ता बालबालिकाहरुसँग कसरी पेश हुने भन्ने कला र ज्ञान हुनै पर्दछ ।


बालबालिकालाई अध्यापन कला विकास गर्न शिक्षक स्वयम् अग्रसर र चिन्तनशील हुनुपर्दछ । यस्तै राज्यका तर्पmबाट पनि शिक्षकहरुलाई आवश्यकताअनुसार प्रशिक्षित गर्न जरुरी छ । पछिल्लो समय स्थानीय तहहरुले शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिन सुरुवात गरेका छन् । मकवानपुरगढी गाउँपालिकाले पनि स्थानीय शिक्षकहरुलाई बालबालिकालाई पढाउने कलाका विषयमा तालिम आयोजना गरेर बाल अध्यापनप्रति चासो देखाएको छ । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले शिक्षण गराउने कलाका लागि तालिम महत्वपूर्ण हुन्छ । धेरै बालबालिकाहरुलार्ई पहिलो पटक विद्यालय पढाउन निकै कठिनाई हुनेगर्दछ । उनीहरु विद्यालयमा रमाउन सकिरहेका हुँदैनन् । यो अवस्थाका बालबालिकालाई विद्यालयमा खुशी बनाउने कला शिक्षकहरुमा हुनुपर्दछ ।


मन्टेश्वरी सिकाई विधिअन्तर्गत् बालबालिकाहरुलाई सबैभन्दा पहिला प्रयोगात्मक अभ्यास गराउनु वैज्ञानिक पद्दति मानिन्छ । खेल्ने उमेर भएकाले उनीहरुको स्मरण खेलप्रति बढी हुन्छ । खेलका माध्यमबाट अध्ययनमा अभिरुचि बढाउने गरी कक्षागत अभ्यास तयार गरिनु पर्दछ । तर शिक्षकहरु पढाउन भन्दा जागिर पकाउने उद्देश्यबाट मात्र विद्यालय पुग्ने गरेका हुन्छन् । श्रृजनशीलताबिना परम्परागत तरिकाबाट अध्यापन गराउँदा बालबालिकामा पढाइप्रति नकारात्मक सोचाई विकास हुन जान्छ । जसले विद्यालय नजाने र गएपनि भाग्ने गर्दछन् । बालबालिकालाई पढाउने भन्दा पनि सिकाउने गर्नुपर्दछ । कुन उमेरमा कस्तो खालको सीप सिकाउनु उपयुक्त हुन्छ भन्ने ज्ञान भएका शिक्षकहरूले मात्र बालमनोविज्ञानका आधारमा पढाउन सक्नेछ ।