मकवानपुरगढीका कृषि प्राविधिक चन्द्रकान्त चौधरी टनेल खेती अनुगमनको क्रममा क्लिक गरिएको तस्बिर ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–८ का किसानहरु टनेल बनाएर तरकारी खेतीतर्फ अग्रसर देखिएका छन् । किसान सूचीकरणको क्रममा सबैभन्दा बढी टनेल खेती गरेर किसानहरुले व्यावसायिक तरकारी खेती गरेको देखिएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ मा मात्र ३ सय ७७ घरधुरी किसान सूचीकरणमा रहेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । किसानहरुले धान, मकै, फापर र तरकारीहरु उब्जनी गर्नेे गरेका छन् भने पशुपालनतर्फ बाख्रा, गाई र कुखुरा पाल्ने गरेको उहाँले बताउनुभयो । जसमा व्यावसायिक खेतीबालीका रुपमा टनेल तरकारी खेती गर्ने गरिएको बताउनुभयो ।

ती व्यवसायबाट ५० हजारदेखि २ लाख रुपैयाँसम्म किसानले आयआर्जन गर्ने गरेको चौधरीले जानकारी दिनुभयो । त्यहाँ उत्पादन तथा उब्जनी गरिएका तरकारीहरु हेटौंडा बजारसम्म बिक्रीका लागि ल्याउने गरिएको छ । जग्गा कम भएका किसानहरुले अन्यन्त्र ठाउँमा पनि खेती गर्ने गरेका छन् ।

करिब ८२ जना किसानहरु टनेल खेती गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् । गाउँका सबै व्यक्ति किसान नहुने भएकाले किसान सूचीको आधारमा परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो । २/४ वटा बाख्रा, कुखुरा पाल्ने तथा व्यावसायिकरुपमा खेती नगरेकालाई पनि किसान सूचीकरणमा समावेश गरिएको चौधरीले उल्लेख गर्नुभयो ।

सूचीकरण गरिएका किसानहरुलाई साना, मझौला र ठूला किसानका रुपमा वर्गीकरण गरी चालु आर्थिक वर्षको असार मसान्तभित्र परिचयपत्र वितरण गरिने उहाँले जानकारी दिनुभयो । सोमबार वडा कार्यसमितिको बैठकले १५ दिनभित्र प्रकाशित किसान सूचीउपर कोही कसैलाई चित्त नबुझेमा कारणसहित वडा समितिसमक्ष उजुरी दिन सकिने वडा नम्बर ८ का अध्यक्ष कुमार सिंह घिसिङले जानकारी दिनुभएको छ ।