हेटौंडाः हेटौंडा–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराती १ बजेर १५ मिनेटको समयमा हेटौंडा–८ र हेटौंडा–५ क्याम्पाडाँडा जोड्ने पुल नजिकै ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा–१५, फारलाइनका २५ विक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।
कमानेबाट हेटौंडा बजारतर्फ आउँदै भएको दुर्घटनामा मोटरसाइकल चालक वाईबाले हेलमेट नलगाएकाले टाउको ठोक्किएर गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । दुर्घटनामा परी हेटौंडा–१५, फारलाइनकै ३१ वर्षीय रमेश बल घाइते भएका छन् । घाइते बलको हेटौंडा अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएको प्रहरीले जनाएको छ । प्रहरीले घाइते रमेश बलसँग दुर्घटनाबारे सोधपुछ गरिरहेको छ ।
