हेटौंडाः हेटौंडा–१३ पदमपोखरी मेम्बरटोलमा रहेको टासी छोयलिङ बौद्ध गुम्बाको १३ औं साधारण सभा भएको छ । गुम्बाकी अध्यक्ष लक्ष्मीमाया थिङको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सोमबार साधारणसभा सभा भएको हो । कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रदेश सभापति बानियाँले विगतमा पनि गुम्बाको भौतिक पूर्वाधारलाई सहयोग एवम् कोरोना महामारी र लकडाउनको समयमा खाद्यान्न वितरण कार्यक्रम गरेको बताउँदै अब पनि गुम्बाको लागि समितिसँग सहकार्य गर्दै बृहत गुरुयोजना बनाएर पूर्वाधार निर्माणसहित पार्क, पिकनिक स्थललगायत बृहत पर्यटकीयस्थल बनाउने बताउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठले बागमती प्रदेशको राजधानी नजिकै धार्मिक पर्यटनका लागि उपयुक्तस्थल रहेकाले एकीकृत विकास योजनासहित डिपिआर बनाएर पार्कलगायत भौतिक पूर्वाधारको कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, ठाकुर सिं लामा, डोल्मा स्याङ्बो, कृष्णमाया लामा, आशिष थापालगायतले मन्तव्य व्यक्त गर्नुभयो । साधारणसभामा कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनीको पनि उपस्थिति रहेको थियो । साधारणसभामा कोषाध्यक्षले लेखा प्रतिवेदन तथा अध्यक्ष थिङले वार्षिक प्रतिवेदनसहित गुम्बामा गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
