हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले सरस्वती पूजाको अवसर पारेर आइतबार अनुशासित विद्यार्थीलाई पुरस्कृत गरेको छ । कक्षा ८ मा अध्ययनरत शोभित बस्नेत र कक्षा ९ मा अध्ययनरत सुस्मिता जिम्बालाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाअध्यक्ष ध्रुव खड्काले विद्यार्थीलाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्य सबैभन्दा अनुशासित, जेहेन्दार छात्रछात्रालाई एक दशकदेखि यो सम्मान प्रदान गरिँदै आएको छ ।
पशुपतिनाथ माविका सेवानिवृत्त शिक्षक चेतप्रसाद पौडेलले आफ्नो मातापिता जशोदादेवी र लालप्रसादको स्मृतिमा ५० हजार राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही कोषको व्याजबाट हरेक वर्ष एकजना छात्र र एकजना छात्रालाई नगद २ हजार ५ सय नगदसहित प्रशंसापत्र प्रदान गर्ने व्यवस्था मिलाईएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिनुभयो । पशुपतिनाथ माविमा ३८ वर्ष सेवा गरी हाल सेवानिवृत्त शिक्षक कविराज तिवारीले पनि आफ्नो मातापिताको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताउनुभएको छ ।
