मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः कोभिड–१९ कोे जोखिम कायमै रहेको भन्दै जिल्ला प्रसाशन कार्यालय (जिप्रका) मकवानपुरले माघ मसान्तसम्म भीडभाड हुने कार्यक्रम नगर्न थप आदेश जारी गरेको छ । आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बजमोजिम यस्तो आदेश जारी गर्नुभएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार जारी गर्नुभएको आदेश ।

जिल्लामा अब माघ मसान्तसम्म सिनेमा हल, डान्स बार, क्लब, जिम खाना, पिकनिक स्थल र भीडभाड हुने कार्यक्रम नगर्न भनिएको छ । विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप खोप सञ्चालन बाहेक भौैतिक उपस्थितिमा नगर्न भनिएको छ । यस्तै शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाका विधिहरु अपनाई सञ्चालन गर्न भनिएको छ ।

प्रशासन कार्यालयले पटक पटक आदेश जारी गरे पनि प्रशासनको आदेश कार्यान्वयन हुन सकेको छैन । प्रशासन कार्यालयले अनुगमनमा पनि ध्यान दिएको देखिँदैन ।