रक्तदान गर्दै । फाइल तस्वीर ।

हेटौंडाः शहीद दिवसको अवसरमा अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतबार बिहान हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा २ जना महिला तथा ३१ जना पुरुषले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि रक्तदान कार्यक्रम नहुँदा हेटौंडामा रगत अभाव भएको थियो । शुक्रबार संकलित रगतले हेटौंडामा एक हप्ताको लागि रगतको माग पुरा गर्न सक्ने प्राविधिक सापकोटाले बताउनुभयो ।

अनेरास्ववियु हेटौंडाका अध्यक्ष नवराज पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, सचिव नवीन सिग्देल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेललगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।