हेटौंडाः आसन्न प्रधानमन्त्री टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रादेशिक क्रिकेट संघले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार सूचना जारी गर्दै प्रदेश टिमका लागि ४ जना वैकल्पिक खेलाडीसहित १८ जना खेलाडी छनोट गरिएको जानकारी दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित १८ खेलाडीको नाम घोषणा हुँदा बागमती प्रदेशको टिममा मकवानपुरका ३ खेलाडीले स्थान बनाउन सफल भएका छन् । मकवानपुर क्रिकेट टिमका कप्तान समेत रहेका राम नरेश गिरी, उपकप्तान सुमन सुनार र रिजन ढकालले प्रदेश टिममा स्थान पक्का गरेका हुन् । मकवानपुरका तीनैजना खेलाडी १४ जनाभित्र परेका छन् ।
गिरीले पछिल्ला ४ वर्षदेखि नियमित रुपमा बागमती प्रदेशको टिममा पर्दै आएका छन् । यस्तै रिजनले पनि यसअघि बागमती प्रदेशको टिममा स्थान बनाइसकेका छन् । मकवानपुरका उपकप्तान सुमन भने पहिलो पटक प्रदेशको टिममा परेका हुन् । टिममा मकवानपुरका ३ खेलाडी पर्दा काठमाडौंका ४, ललितपुरका ६, चितवनका २ तथा भक्तपुर, नुवाकोट र त्रिभुवन विश्वविद्यालय (टियू) का १/१ जना खेलाडी परेका छन् ।
संघले १८ खेलाडीको नाम घोषणा गर्दा भर्खरै सम्पन्न प्रधानमन्त्री टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बागमती प्रदेश छनोटमा सहभागी खेलाडीहरुबाट छनोट गरेको जनाएको छ । छनोटमा सहभागी नभएका ज्ञानेन्द्र मल्ल र नन्दन यादव पनि प्रदेश टिममा परेका हुन् । उनीहरुलाई राष्ट्रिय टिमको बन्द सत्रबाट सोझै छनोट गरिएको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । राष्ट्रिय टिमका हालका कप्तान सन्दिप लामिछाने पनि प्रदेश भित्रकै भएपनि उनी नेपाल बाहिर रहेको र आउन समय लाग्ने भएकोले नाम नराखिएको उहाँको भनाई छ । बागमती प्रदेश टिमको प्रशिक्षकमा रिकेश लामा रहनुभएको छ भने व्यवस्थापकमा रुपक रञ्जित रहनुभएको छ ।