Home मुख्य समाचार बिरामीलाई खाना सहयोग गर्न आँखा अस्पतालको अपिल

बिरामीलाई खाना सहयोग गर्न आँखा अस्पतालको अपिल

हेटौंडा सामुदायिक आँखा अस्पतालले सहयोगका लागि अपील गर्दै सामाजिक सञ्जालमा राखेको विवरण ।

हेटौंडाः हेटौंडा—१० स्थित हेटौंडा सामुदायिक आँखा अस्पतालले विपन्न व्यक्तिले उपचारका क्रममा अस्पतालमै बस्नुपर्दा उनीहरुलाई खाना खुवाउनका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । विशेषगरी मोतिविन्दुको शल्यक्रिया गर्ने क्रममा विपन्न विरामीलाई खानाको व्यवस्था गर्न सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थालाई अपिल गरेको हो ।

अस्पतालले आइतबार सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेको छ । दैनिक करिब ६० जना बिरामीलाई खानाको व्यवस्था गर्नुपर्ने भएकाले अस्पतालले सहयोगका लागि आग्रह गरेको छ । आफ्नो दैनिकी चलाउन नै मुस्किल भएका, कमजोर आर्थिक श्रोत भएका, अस्पताल आउन पनि असमर्थ भएका विपन्न वर्गका विरामीको अस्पतालले निशूल्क उपचार गरे पनि खानाको व्यवस्था गर्न भने समस्या भएकोले सहयोगका लागि अपिल गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

एक जना विरामीलाई एक दिनको खानाका लागि दुई सय रुपैयाँ खर्च लाग्ने श्रेष्ठले बताउनुभयो । अहिले पनि विभिन्न संघ, संस्थाको वार्षिकोत्सव, स्थापना दिवस तथा व्यक्तिले बुबा र आमाको स्मृति तथा पुण्यतिथिमा बिरामीका लागि खानाको व्यवस्था गर्ने गरेको छ । खाना सहयोग गर्न चाहनेले अस्पतालको क्यान्टिनबाट खाना खुवाउन सक्नेछ ।

Exit mobile version