हेटौंडाः लामो समयदेखि मकवानपुरगढीको सुकौरामा रहेको शिवम् सिमेन्टको खानीहरु विवादमा आउने गरको छ । शिवम् सिमेन्टको खानीको लापरबाहीका कारण मकवानपुरगढीको वडा नम्बर ८, ७, ६, ३, २ का स्थानीयहरु आजित भएका छन् ।
खानी उत्खनन् गरेपछि आवश्यक नभएको ढुंगा, माटो, कंक्रिट शिवम्ले अस्तव्यस्तरुपमा जथाभावी व्यवस्थापन गर्दै आएको छ । यसअघि पनि स्थानीयले अवरोध गरेसँगै गतवर्ष खानीले आवश्यक नभएको ठूला ढुंगा, माटोको उचित व्यवस्थापन गरेको थियो । खानी उत्खनन् गर्दा आवश्यक नभएको ढुंगा माटो उचित व्यस्थापन नहुँदा सामरी खोलाको बगर भरिने र बर्खामा खोला बस्तीमा छिर्ने गरेको खानी प्रभावित पुस्कर तिमल्सिनाले बताउनुभयो ।
शिवम् सिमेन्टको खोटार खानी र कलवान खानी सञ्चालनमा रहेको छ । यस्तै चपकी खानी भने अहिले सञ्चालनमा छैन । खानी उत्खनन् गरेर शिवम्ले आफूलाई चाहिनेमात्र चुनढुंगा लैजाने गरेको छ । आवश्यक नभएको माटो, टुक्राटुक्रा ढुंगालाई अस्तव्यस्त तरिकाले राख्ने गरेको स्थानीयको गुनासो छ । डाँडा नै उत्खनन् गर्दै आएको शिवम्को विरुद्धमा सिंगो बस्ती नै सक्रिय भएको छ । जथाभावी माटो फालिँदा सामरी खोलको बगर भरिएर बर्खामा बस्तीमा खोला छिर्ने त्रास यतिबेला बस्तीमा छ । ३ वर्षदेखि नै यस विषयमा बस्ती तथा भूमि संरक्षण समूह मकवानपुगढीले शिवम् सिमेन्ट, मकवानपुरगढी गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । स्थानीयको ध्यान नगएसँगै खानीले जथाभावी माटो ढुंगा फाल्दै आएको छ ।
बस्ती तथा भूमि संरक्षण समूह मकवानपुरगढीको सचिवसमेत रहनुभएका पुस्कर तिमल्सिनाले खानी बन्द गरेर उत्खनन् रोक्नु समाधान नभएपनि पौष ११ गते सम्पूर्ण खानी र ढुवानी बन्द गर्न लागिएको बताउनुभयो । पटकपटक शिवम्को ध्यानाकर्षण गराएकाले यसविरुद्ध सिंगो बस्ती नै उत्रने उहाँको भनाई छ । संविधानको मौलिक हकमा भएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको लागि आफूहरुले खानी बन्द गरेर उचित व्यवस्थापनको लागि आन्दोलन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । सुरक्षाको उचित व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय र मकवानपुर प्रशासनलाई जानकारी दिइने उहाँले बताउनुभयो ।