Home मुख्य समाचार नेपाली कांग्रेसको अधिवेशनः बागमती प्रदेशमा मतदान सुरु

नेपाली कांग्रेसको अधिवेशनः बागमती प्रदेशमा मतदान सुरु

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको निर्वाचन प्रक्रियामा मतदान सुरु भएको छ । निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका भन्दा झण्डै ८ घण्टापछि शनिबार अपरान्ह ४ बजे मतदान सुरु भएको हो ।

प्रदेश समितिको पदाधिकारी तथा सदस्यको संख्या धेरै हुनुका साथै तीन वटा प्यानलबीच भिडन्त हुने स्थितिमा मतपत्र ठूलो बनाउनु पर्ने र मतपत्र छपाइमा पनि ढिलाई भएसँगै मतदानको प्रक्रिया ढिलो गरी सुरु भएको निर्वाचन समितिले जनाएको छ । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पस परिसरामा जारी अधिवेशनमा निर्वाचन समितिले ९ वटा मतदान केन्द्र बनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट २ हजार १ सय ३७ मतदाताले प्रदेश समितिका पदाधिकारी तथा सदस्यका लागि मतदान गर्नेछ ।

बागमती प्रदेश समितिको निर्वाचनमा प्रदेश सभापति पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर समूहबाट जगदिश्वर नरसिंह केसी र कृष्ण सिटौला समूहबाट भीमसेनदास प्रधान प्रदेश सभापतिको उम्मेदवार बन्नु भएको छ । पदाधिकारीसहित ९१ पदका लागि २ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

Exit mobile version