गुगल तस्बिर

हेटौंडाः हेटौंडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले उत्खनन् गर्दै आएको खानी बन्द गर्न माग गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नं ४ गिङ्गुस्थित ऋद्धिसिद्धि सिमेन्टको खानी बन्द गर्न आग्रह गरिएको हो ।
खानी क्षेत्रमा भइरहेका गतिविधिहरुले मानवीय क्षतिसमेत हुनसक्ने भन्दै वातावरण सहज नभएसम्म उद्योगलाई खानी उत्खननसम्बन्धी कुनै पनि गतिविधि गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरिएको छ । राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडा अध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष पाँच बुँदे ध्यानाकर्षणपत्र लेख्दै खानी बन्द गर्न आग्रह गरिएको छ ।

स्थानीयस्तरमा शान्तिपूर्ण वातावरण सिर्जना नभएको, स्थानीय युवा र व्यवसायीहरुमा आपसी झैझगडा र द्वन्द्व सिर्जना गराइएको भन्दै वडा अध्यक्ष कोइरालाले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र पठाउनु भएको हो । उहाँले समस्याको हल नभएसम्म खानीसम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गर्नुभएको छ ।

वडा अध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गर्नुभएको ध्यानाकर्षणपत्रमा प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङ हुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि ऋद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिए पनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रमा बाटो बनाइएको उल्लेख गरिएको छ । बाटो नक्सांकन तथा वातावरणीय प्रभाव मूल्यांकन नगरिएको सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत बाटो निर्माणको कार्य अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न वडा अध्यक्ष कोइरालाले आग्रह गर्नुभएको छ । स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४ दशमलब ५ किलोमिटर उक्त सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वनसम्बन्धी मुद्धा बोक्न बाध्य भएको घटना वडा अध्यक्ष कोइरालाले स्मरण गराउनुभएको छ ।

वडा अध्यक्ष कोइरालाले २०७८ साल कात्तिक २८ गतेका दिन ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्स्ट्रक्सन प्रालिको प्रदेश ०३–०१–००३ नम्बरको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुईवटामा क्षति पुर्‍याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले उक्त घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ ।

खानी सञ्चालन गर्नुअघि स्थानीय बासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटकपटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्स्ट्रक्सन प्रालिले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको वडा अध्यक्ष कोइरालाले आरोप लगाउनुभएको छ । जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्धामामिला बढेर वातावरण असहज भइरहँदा मानवीय क्षतिसमेत हुनसक्ने अवस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गरिदिन वडा अध्यक्ष कोइरालाले माग गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको बैठकले मनहरीदेखि खैराङसम्म बाटो बनाउने निर्णय भएअनुसार बाटो बनाउँदा जैविक विविधतामा असर परेको, खोलाको बहावलाई परिवर्तन गरी कुलोजस्तो बनाइँदा जैविक विविधता र वातावरणमा असर परेकाले सोको सुधारका लागि पनि उहाँले माग गर्नुभएको छ ।

विभिन्न ढंगका समस्याहरु एकपछि अर्काे गर्दै कानुनविपरित, सम्झौता र सहमतिविपरित क्रियाकलापहरु गरी खानी सञ्चालन गर्ने मनसाय सिमेन्ट उद्योग र उत्खनन्कर्ता ठेकेदार कम्पनीहरुको देखिएको भन्दै त्यस्ता क्रियाकलापले मानवीय/भौतिक र वातावरणीय क्षति हुनसक्ने भएकाले तत्कालका लागि खानीसम्बन्धी काम कारबाही बन्द गरी सहज वातावरण निर्माणका लागि पहल गरिदिन वडा अध्यक्ष कोइरालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभएको छ ।