हेटौंडाः नेकपा एमालेले भोलि मंगलबार हेटौंडामा बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौडामा ७ सय भन्दा बढी मोटरसाइकलसहितको ¥याली गर्ने भएको हो ।

१० औं राष्ट्रिय महाधिवेशनको मकवानपुरको प्रचार प्रमुख नविन सिग्देलले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडाको हुप्राचौरबाट मोटरसाइकल र्‍याली सुरु भएर, मेनरोड, एचआइडी, गौरीटार रंगशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोमा आएर र्‍याली समापन हुने बताउनुभयो ।

उहाँले चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनम मकवानपुर जिल्लाबाट ३५ हजार कार्यकर्ता सहभागि हुने बताउनुभयो । झण्डै १० हजार संगठित सदस्यसहित ३५ हजार कार्यकर्ता २ हजार मोटरसाइकल, ५ सय साना सवारी र २ सय वटा बसमा महाधिवेशनमा सहभागि हुन जाने उहाँले जानकारी दिनुभयो । यसको लागि एमाले मकवानपुरले १० वटै स्थानीय तहमा निर्देशन गरिसकेको र विभिन्न कामको समेत जिम्मेवारी बाँडफाँड गरिसकेको छ । महाधिवेशनमा विदेशीहरु पनि आउने भएकोले मकवानपुरले आफ्नो पहिचान सहितको सांस्कृतिक झझल्को दिने पञ्चे बाजा, नौमति बाजा, धिमे बाजा, तामाङ बाजा, कौडा नित्य, चेपाङ झाकी, खैजडी, न्याउलि बजा लगायतको प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ ।

यस्तै एमाले मकवानपुरले १० औं महाधिवेशनमा सहभागि हुन जाने खर्च एमालेले लेबी उठाएको रकम र केही पार्टीका सहयोगीहरुबाट व्यवस्थापन हुने एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्सालले बताउनुभयो । उहाँका अनुसार अधिवेशनमा जान स्व खर्च गर्नुपर्ने भएको भन्दै कसैसँग चन्दा नउठाएको बताउनुभयो । महाधिवेशनमा सहभागि हुन तथा जनपरिचालन गर्न अध्यक्ष बद्रि लम्सालको संयोजक र सचिव एकलाल श्रेष्ठ रहेको २ हजार १ सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ ।

यस्तै गोपाल श्रेष्ठको संयोजनमा रहने गरी आर्थिक समिति निर्माण गरिएको छ । १० औं महाधिवेशनमा मकवानपुरबाट सहभागि हुन एमालेको २२ वटा जनवर्गिय संगठन चुस्त बनाइएको छ । चितवनमा हुने अधिवेशनमा मकवानपुरको केही नेताले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवार दिने तयारी समेत गरेका छन् ।