हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौंडाः हेटौंडामा रहेको हेटौंडा सामुदायिक आँखा अस्पताल १३ औं वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल मंसिर ५ गते स्थापना भएको आँखा अस्पताल आइतबारबाट १४ औं वर्षमा प्रवेश गरेको हो ।स्थापना भएको १३ वर्षको समयमा अस्पतालले राम्रा तथा उत्कृष्ट काम गरेर सफलता हासिल गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बताउनुभयो ।

अस्पतालले सेवा सुविधा विस्तार गर्दै सफलता हासिल गरिरहेको भए पनि चुनौतीहरु पनि धेरै आउने गरेको उहाँले जानकारी दिनुभयो ।पहिला हेटौंडामा आँखा अस्पताल नहुदा आँखाका रोगीहरुले सानोतिनो उपचारका लागि हेटौंडाबाहिर जानुुपर्ने बाध्यतालाई सामुदायिक आँखा अस्पतालले अन्त्य गरेको छ ।
विगतमा उपचारका लागि टाढा जान सम्भव नभएका बिरामीले आफ्नो आँखाको रोगको पहिचान र उपचार गर्न नसकी बस्नुपरेको अवस्थालाई सामुदायिक आँखा अस्पतालले अन्त्य गरेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

हेटौंडामै आँखा अस्पतालले सेवा सुरु गरेपछि मकवानपुरबासीले सजिलै आँखासम्बन्धी स्वास्थ्य सेवा प्राप्त गरेकाले समयमै उपचार गरी अन्धोपनलगायत आँखासम्बन्धी समस्याबाट मुक्त भएको उहाँले जानकारी दिनुभयो ।स्थापनाकालमा दैनिक एक सयभन्दा कम बिरामी उपचारका लागि अस्पतालमा आउने गरेकोमा हाल दैनिक ४ सय जनाको हाराहारीमा बिरामी आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।


आँखा अस्पतालले न्यून शुल्कमा उपचार सेवा प्रदान गरिरहेकाले आर्थिकरुपमा अस्पताल सक्षम बन्न नसकेको उहाँले बताउनुभयो । अस्पतालको आम्दानी न्यून हुदाँ आवश्यक उपकरण खरिद गर्न समस्या हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।अस्पतालमा दक्ष जनशक्तिको कमी रहेको र दक्ष जनशक्ति अन्य स्थानमा काम गर्न रुचाउने भएकाले अस्पतालमा थप जनशक्तिको आवश्यकता रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । हाल अस्पतालमा ३ जना आँखासम्बन्धी डाक्टरले अस्पतालमा आउने बिरामीलाई सेवा दिइरहेको उहाँले बताउनुभयो । अस्पतालमा हप्ताको ३ दिन अप्रेशन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।