Home मुख्य समाचार वनकरिया बस्दै आएको भूमिको स्वामित्व उनीहरुलाई दिनेः आर्थिक मामिला मन्त्री जम्कट्टेल

वनकरिया बस्दै आएको भूमिको स्वामित्व उनीहरुलाई दिनेः आर्थिक मामिला मन्त्री जम्कट्टेल


हेटौंडाः बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्दै आएको वनकरियाहरुलाई सोही स्थानको भूमिको स्वामित्व दिने विषय सरकारको प्राथमिकतामा पर्ने बताउनुभएको छ । लोपोन्मुख जातीको संरक्षण गर्न बागमती प्रदेशले आवश्यक अध्ययन गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा बनेको गठबन्धनको सरकारले वनकरिया लगायत लोपोन्मुख जातिहरुको संरक्षण र विकासको लागि आवश्यक प्याकेज घोषणा गर्ने बताउनुभएको हो । बागमती प्रदेशमा गठबन्धनको सरकार निर्माण भएपछि केही नयाँ र सरकारको प्राथमिकताका परेको कार्यक्रमहरु घोषणा गर्ने तयारी भइरहेको आर्थिक मामिला मन्त्री जम्कट्टेलले बताउनुभयो ।

बिहीबार मकवानपुरका लोपोन्मुख वनकरिया जातिका लागि संसद र सरकारको भूमिका विषयक पत्रकारसँग भएको अन्तरक्रियामा बोल्दै मन्त्री जम्कट्टेलले वनकरिया लगायतका लोपोन्मुख जातिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उनीहरुको बसोबास भएको स्थानको अध्ययन हुने र सरकारले आवश्यक कदम अघि बढाउने बताउनुभएको छ ।

बागमती प्रदेश सांसद जुनेली श्रेष्ठ र ओम ग्लानले पनि संसदमा वनकरियालाई भूमि सरकारले उपलब्ध गराउनुपर्नेमा जोडदार आवाज उठाउने प्रतिबद्धता गर्नुभएको छ । जनपत्र मिडिया प्रालिको आयोजनामा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा वनकरियाको अवस्था, उनीहरुको मकवानपुरमा स्थापित भएको बारेमा वरिष्ठ पत्रकार प्रताप विष्टले बताउनुभएको थियो ।

Exit mobile version