छवि सुबेदीलाई म्याच कमिसनरको प्रमाणपत्र प्रदान गर्नुहुँदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको म्याच कमिसनर सेमिनारमा सहभागी हुँदै मकवानपुरका छवी सुवेदी म्याच कमिसनर बनेका छन् । नेपाली फुटबलको इतिहासमा पहिलो पटक भएको म्याच कमिसनर सेमिनारको आयोजना भएको हो । मकवानपुर जिल्ला फुटबल संघका सदस्य समेत रहेका सुवेदीसहित देशभरबाट ३० जना प्रतिनिधीहरु म्याच कमिसनर बनेका छन् ।

फुटबल प्रतियोगिता आयोजना गर्दा उद्घाटनदेखि समापनसम्म व्यवस्थित रुपमा सञ्चालन गर्न तथा आयोजकदेखि रेफ्रिहरुसँग आवश्यक समन्वय गर्नका लागि म्याच कमिसनर अत्यावश्यक रहेकाले उक्त सेमिनार तथा प्रशिक्षणबाट धेरै कुराहरु सिकिएको छवि सुवेदीले बताउनुभयो । फुटबलका विषयमा कतिपय थाहा नभएका कुराहरु पनि सिक्न पाउँदा खुसी लागेको उहाँको भनाई छ । यस्तै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले देशभरबाट ३० जना म्याच कमिसनर हुँदा मकवानपुर जिल्लाबाट पनि एकजना हुन पाउनु मकवानपुर फुटबलको विकासका लागि खुसीको कुरा भएको बताउनुभएको छ । आगामी दिनमा मकवानपुरमा हुने फुटबल प्रतियोगिताहरु अझै व्यवस्थित र उत्कृष्ट रुपमा आयोजना हुने उहाँले बताउनुभयो ।

यही कात्तिक २१ गतेदेखि २३ गतेसम्म भएको सेमिनार तथा प्रशिक्षण कार्यक्रममा भारतबाट आउनुभएका प्रशिक्षक गौतम करले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा भुतपूर्व महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरु तथा विभिन्न जिल्ला फुटबल संघका प्रतिनिधीहरु गरी ६ जना महिलासहित ३० जनाको सहभागिता रहेको थियो ।