हेटौंडाः आज छठ पर्वको मुख्यदिन अस्ताउँदो सूर्यको पुजा गरी मनाइँदैछ । हेटौंडामा पनि छठ पर्वका रौनक छाएको छ । हेटौंडा–१ राप्तीतटमा यो वर्ष पनि छठ पर्व मनाउन छटघाटको निर्माण गरिएको छ । छठ पर्व मुल समारोह समितिका संयोजक सुशीलप्रसाद सेनुरिया बनियाँले बुधबार राप्ती खोलामा ५० हजार भन्दा बढीले छठको अवलोकन गर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमति दिएसँगै हेटौंडामा छठ पर्व धुमधामका साथ मनाइने भएको हो । प्रत्येक वर्ष छठको अवसरमा हेटौंडाको राप्तीतटमा छठ पर्व मनाइन्छ । मंगलबारबाट लसुन, प्याज समेत नखाएर व्रत बसेकाहरु व्रतालुहरुले आज बुधबार अस्ताउँदो सूर्य र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउँछन् ।
हेटौंडाको राप्तीतटमा सरसफाई गरी चिटिक्क पारिएको छ । छठ पुजाका लागि निर्माण गरिएको घाट वरपर सरसफाई गरिएको छ । कोभिड–१९ को समय भएपनि यसपटक हजारौंको संख्यामा छठका ब्रतालुहरूले सामूहिक रूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छैठी देवीको पूजा गर्ने तयारीमा रहेको छठ पर्व मूल समारोह समितिका सदस्य कृष्ण कुमार कंशाकारले बताउनुभयो ।