Home मुख्य समाचार देशको अस्मितामा कसैले धावा बोले मकवानपुर एउटा सामरिक स्थान होः प्रधानसेनापति शर्मा

देशको अस्मितामा कसैले धावा बोले मकवानपुर एउटा सामरिक स्थान होः प्रधानसेनापति शर्मा

हेटौंडाः प्रधानसेनापति प्रभुराम शर्माले देशको अस्मितामा कसैले धावा बोले मकवानपुर एउटा सामारिक ठाउँ भएको बताउनुभएको छ । बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताउनुभयो ।


आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा गरेको शर्माले बताउनुभयो । महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे ।


‘यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो ।’ शर्माले भन्नुभयो । नेपालको अन्य गढी, किल्ला, गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ । प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक, आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन विदेशीहरुलाई लगाउन बनाइएको गढ, किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ ।मल्ल राजा, शाहवंश, राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो ।

वैद्य–अवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो । देशको अहिलेको गृह मन्त्रालय, अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो ।’ शर्माले भन्नुभयो । मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उहाँको भनाई थियो ।

Exit mobile version