हेटौंडाः निर्माण सामग्री उत्पादनका लागि प्रमुख कच्चा पदार्थको रुपमा रहेको कोइलाको विश्वव्यापी संकटका कारण नेपालका निर्माण कम्पनिहरु जोखिममा पर्ने भएका छन् । कोइलाको अभावमा सिमेन्ट, फलाम, इँटा, वियर उद्योग जोखिममा पर्ने बताइएको छ ।
हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहका अनुसार कोइलाको अभावका साथै उपलब्ध कोइलाको पनि मूल्यमा उच्च वृद्धि भएसँगै उद्योगहरु जोखिममा पर्ने खतरा रहेको छ । कोइलाको अभावकै कारण उत्पादन नै गर्न नसकिने अवस्थामा उद्योगहरु पुग्ने सिंहको भनाइ छ । अबको १० दिनपछि कोइलामा आधारित धेरै उद्योगहरुले उत्पादन नै बन्द गर्नुपर्ने जोखिम आइपर्ने सिंहले दावी गर्नुभएको छ । प्रतिटन १५ हजार रुपैयाँमा खरिद गर्दै आएको कोइलाको अहिले प्रतिटन ३८ हजार रुपैयाँ पर्ने अवस्था रहेको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अबको १० दिनपछि कोइलाको अभावसँगै खरिद नै गर्न नसक्ने गरी मूल्य आकाशिने छ ।
कोइला अभावकै कारण हेटौंडाको शिवम् सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएको छ । दसैंलगत्तै रिद्धिसिद्धि सिमेन्टले प्रतिबोरा २० रुपैयाँ बढाएर प्रतिबोरा उपभोक्ता मूल्य ६८० रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टले प्रतिबोरा ३० रुपैयाँ बढाएर उपभोक्ता मूल्य ६९० रुपैयाँ बनाएको छ । हेटौंडा सिमेन्ट उद्योगले भने हरेक महिना उपभोक्ता मूल्यमा पुनरावलोकन गर्ने भनिए पनि कात्तिक महिनामा मूल्य पुनरावलोकन गरेको छैन ।
