Home मुख्य समाचार चार दलको समर्थनमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री बन्दै

चार दलको समर्थनमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री बन्दै

हेटौडाः चार दलको समर्थनमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डे आज मुख्यमन्त्री बन्दैछन् । नेपाली कांग्रेसको २२ सांसद, माओवादीको २३ सांसद, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसदको समर्थनमा पाण्डेले मुख्यमन्त्रीमा आफ्नो दाबी प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बुधबार पेश गरिसकेका छन् ।

नेकपा एमाले विभाजन भएर बनेको समाजवादीको नेता राजेन्द्र पाण्डेको नेतृत्वमा आज नयाँ सरकार बन्दैछ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित चार सदस्यीय मन्त्रिमण्डल विस्तार हुनेछ । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस ससदीय दलका उपनेता कृष्ण भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचिव निमा लामाले जानकारी दिनुभयो । मन्त्रालय भागवण्डाको विषयमा भने छलफल जारी रहेको उहाँको भनाइ छ ।

स्रोतका अनुसार कांग्रेसले भौतिक पूर्वाधार, माओवादीले आर्थिक मामिला र समाजवादीले सामाजिक विकास मन्त्रालय पाउँदैछ । बागमती प्रदेशमा अहिले आठ वटा मन्त्रालय छ । गठबन्धन दलबीच भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

१३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच सहमति भइसकेको छ । बागमतीमा १०९ सांसद छन् । एमालेका ४३, कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीका १३ सांसद छन् । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र एक स्वतन्त्र सांसद छन् । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेर एमालेबाट भदौ २ गते बुधबार मुख्यमन्त्री बन्नुभएको अष्टलक्ष्मी शाक्यले बुधबार संसद्‌ बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गर्नुभएको थियो । उहाँले राजीनामा दिएसँगै नयाँ सरकार गठन गर्न बाटो खुल्ला भएको हो ।

Exit mobile version