Home मुख्य समाचार मउवासंघको वार्षिक साधारणसभा सुरु

मउवासंघको वार्षिक साधारणसभा सुरु

मकवानपुर उद्योग वाणिज्य संघको वार्षिकको साधारणसभाको अवसरमा पल्पसा सदनको उद्घाटन गर्दै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानियाँ

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)को वार्षिक साधारणसभा सुरु भएको छ । आइतबार हेटौंडामा संघको ५४ र ५५ औं वार्षिक साधारणसभाको सुरुवात भएको हो । सभा आज सोमबारसम्म चल्नेछ भने संघको निर्वाचन कात्तिक ९ गते मंगलबार हुनेछ ।

मउवासंघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता थियो । कोभिड १९ का कारण प्रतिनिधिमूलक उपस्थिति गराएर भर्चुअलरुपमा साधारणसभा गरिएको हो । वार्षिक साधारणसभामा संघले विभिन्न क्षेत्रका संघसंस्थालाई सम्मानसमेत गरेको छ ।

वार्षिक साधारणसभाको अवसरमा झण्डै ४ करोडको लागतमा तयार भएको पल्पसा अतिथि गृहको समेत उद्घाटन भएको छ । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँले पल्पसा सदनको उद्घाटन गर्नुभएको हो । सो भवनमा ३० वटा कोठा रहेको छ । उद्योग वाणिज्य संघको निर्वाचनपश्चात् पल्पसा सदन पूर्णरुपमा सञ्चालनमा आउनेछ । आन्तरिक आयस्रोत वृद्धि गर्न उद्योग वाणिज्य संघले नै अतिथि गृह सञ्चालन गर्ने भएको हो ।

वार्षिक साधारणसभामा बागमती प्रदेशका सांसदहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

आज उम्मेदवारी दर्ता
मंगलबार हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । आज उम्मेदवारी दर्ता गर्ने फिर्ता लिने समय तोकिने र मंगलबार निर्वाचन गर्ने तयारी भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका आकांक्षी तीन जना देखिएका छन् । संघको पूर्वअध्यक्ष राजकुमार न्यौपाने, वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) र पूर्व महासचिव महेन्द्र राउतले उम्मेदवारी दिने तयारी भएको छ । तीनै जनाले प्यानल नै जित्ने दाबी गर्दै आएका छन् ।

यसैबीच संघको वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ताको नागरिकता नक्कली भएको समाचार सम्प्रेषण गरेर झुटो हल्ला फिजाए पनि यसबारे सत्यता नभएको गुप्ताले प्रष्ट पार्नुभएको छ । नागरिकताको कुरा चुनावमा उठ्ने, आफ्नो गुटमा आउँदा नहुने, अरुको गुटमा पुगे नक्कली भयो भन्ने हल्लाको पछाडि नलाग्न गुप्ताले आग्रह गर्नुभएको छ ।

करिब ४ दशकदेखि मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेका काम गरेको अनुभव बोकेका गुप्ताले एक कार्यकालमात्र आफू अध्यक्ष बन्ने प्रतिबद्धता गर्नुभएको छ । संघको नेतृत्व गर्ने चाहना सबैको हुने भएकाले एक कार्यकाल आफूले नेतृत्व गर्ने र अरुलाई आफूले बाटो खुला गर्ने उहाँले बताउनुभयो ।
सानो व्यापारबाट सुरु गरेर आज ठूलो व्यापारिक सञ्जाल निर्माण गर्न सफल गुप्ताले व्यवसायीको हक हितलाई नयाँ उचाईमा पुर्‍याउनुभएको दावी गर्नुभएको छ । उहाँले व्यवसायीको अमूल्य मत खेर नफाल्न पनि आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा मकवानपुर उद्योग वाणिज्य संघको गरिमालाई थप उचाईमा पुर्‍याउने उहाँको भनाई छ ।

Exit mobile version