मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने भएको छ । यही कात्तिक १० गते बस्ने प्रदेशसभा बैठकले विश्वासको मतको सम्पूर्ण पक्रिया पूरा गर्ने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको छ ।

बागमती प्रदेशसभामा बिहीबार विश्वासको मत लिनेसम्बन्धी छलफल भएको थियो । सोही छलफलको क्रममा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा र स्वतन्त्र सांसदले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यलाई नेकपा माओवादीले विश्वासको मत नदिने बताएको छ । माओवादी संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले व्यक्तिगतरुपमा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिनुपर्ने भए पनि प्रतिगमनको पार्टीमा उभिएकाले मत दिन नसक्ने स्पष्ट गर्नुभयो । उहाँले विश्वासको मत लिने प्रक्रियामाथिको छलफलमा भाग लिँदै प्रक्रियामा जानुभन्दा राजीनामा दिएर मुख्यमन्त्री शाक्यले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा बैठकको छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध आफू उभिएको उद्घोष गर्नुभयो । शाक्यले प्रतिगमनको साथ दिएसँगै शाक्यविरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आएको उहाँले बताउनुभयो । संसदीय दलका नेता पाण्डेले अल्पमतमा परेको ३९ दिनसम्म पनि मुख्यमन्त्री शाक्यले सरकार चलाएको भन्दै गठबन्धनको सरकारलाई राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । विश्वासको मत ३० दिनभित्र लिइसक्नुपर्ने भए पनि मत नलिएर सरकार चलाइरहेको उहाँले आरोप लगाउनुभयो । पाण्डेले बिहीबार बागमती प्रदेशमा गठबन्धन कायम भएसँगै गठबन्धनका सांसदहरुलाई धन्यवाद दिनुभएको छ ।

बागमती प्रदेशमा तीन दलको गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । केन्द्रमा जस्तै प्रदेशमा पनि नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको गठबन्धन बनेको हो । प्रदेशमा बनेको गठबन्धनप्रति इमान्दार हुने नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँले बताउनुभयो । उहाँले प्रदेशमा बनेको गठबन्धनसँग स्पष्ट ५८ मत भएको भन्दै मुख्यमन्त्री शाक्यले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

प्रदेशमा बहुमत पुग्न ५५ मत आवश्यक भएपनि कांग्रेसको २२, माओवादीको २३ र नेकपा समाजवादीको १३ मत गरेर ५८ मत पुग्छ । बानियाँले सभामुख सानुकुमार श्रेष्ठलाई विश्वासको मत लिने भन्दै लामो समय बैठक नलम्ब्याउन आग्रह गर्नुभयो । स्पष्ट बहुमत गठबन्धनसँग देखिएको भन्दै सरकार दुई–पाँच दिन लम्ब्याएर केही नहुने बानियाँको तर्क थियो ।

बागमती प्रदेशमा विपक्षी दलहरुले आफ्नो मुख्यमन्त्री फाइनल गर्न नसक्दा एमालेले ३० दिनभित्र लिनुपर्ने विश्वासको मत नलिएर अल्पमतको सरकार चलाइरहेको थियो । तर बिहीबार केन्द्रमा जस्तै नेपाली कांग्रेसको संसदीय दलको नेता बानियाँ, माओवादीका शालिकराम जम्कट्टेल, र नेकपा समावादीको संसदीय दलको नेता राजेन्द्र पाण्डेबीच सहमति भएको छ । केन्द्रको गठबन्धनको निर्णयअनुसार बागमती प्रदेशको नेतृत्व बाँकी अवधिमा आधा–आधा समय हुने लगभग निश्चित बनेको छ । यद्यपि आधा–आधा नेतृत्व गर्नेबारे नेताहरुले स्पष्ट बताएका छैनन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको सचेतक छिरिङ दोर्जे लामाले दलको नेताले स्पष्ट नबताएका कारण भन्न नसकिने जानकारी दिनुभयो । यस्तै माओवादीका प्रमुख सचेतक बुद्धिमान माझीले भने लगभग केन्द्रको निर्णयअनुसार प्रदेशको सञ्चालन आधा–आधा समय नै हुनसक्ने बताउनुभयो । यद्यपि प्रदेशमा ३ दलको संयुक्त सरकार गठन भएसँगै तीनै दल सरकारमा समावेश हुने उहाँको भनाई छ । बीचमा मुख्यमन्त्री परिवर्तन भए पनि सबै दलको सरकारमा सभागिता रहने माझीले बताउनुभयो ।

गठबन्धनको स्पष्ट बहुमत पुग्ने र मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेसँगै नेकपा एमालेले सरकारबाट हट्नुपर्ने देखिएको छ । तर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने र राजीनामा नदिने यसअघि नै बोल्नुभएको छ । बिहीबारको प्रदेशसभाको घटनाले मुख्यमन्त्रीले आफ्नो रणनीति परिवर्तन गर्नसक्ने देखिएको छ । मुख्यमन्त्री शाक्यले राजीनामा दिनसक्ने प्रबल सम्भावना छ । उहाँले राजीनामा दिएर नयाँ सरकार गठन गर्ने मार्गप्रशस्त गरेर राजनीतिक छवि उच्च गर्न अन्य दलका नेताहरुले आग्रह गरेका छन् ।

बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले गरेको विकास योजनाको फेहरिस्त पढेरसमेत प्रदेशसभामा सुनाउनुभएको थियो । मुख्यमन्त्री शाक्यले सरकार ढल्ने निश्चित भइसक्दासमेत आफ्नो आसेपासेलाई मन्त्रीलगायत विभिन्न राजनीतिक पदमा नियुक्त गर्नुभएको थियो ।