गुगल तस्बिर ।

हेटौंडाः नेपालीहरुको महान पर्व बडादशैं आज बिहीबारबाट सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना गरी जमरा राखिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा पवित्र नदी वा चोखो स्थानबाट ल्याएको बालुवा अथवा माटोमा जौ छरेर विधिपूर्वक जमरा राखिँदैछ ।

यसवर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृह मन्त्रालयले केही दिनअघि सूचना प्रकाशित गरेर उक्त शुभसाइत सार्वजनिक गरेको हो ।

आज बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु राम्रो हुने उहाँले बताउनुभयो ।