हेटौंडाः हेटौंडा–१५ स्थित वनदेवी आधारभूत विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा बुधबार साँस्कृतिक कार्यक्रम भएको छ । विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रम भएको हो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक रश्मि कट्टेलको सभाध्यक्षता तथा हेटौंडा–१५ का वडा सदस्य मिनु विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएका हो ।
साँस्कृतिक कार्यक्रममा नर्सरीदेखि ८ कक्षासम्मका विद्यार्थीले नृत्य, गीत र कविताहरु प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीका लागि प्रतिभा प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो । घटस्थापनादेखि बन्द हुने विद्यालय कार्तिक ४ गतेबाट सुचारु हुने विद्यालयका सहायक प्रधानाध्यापक कुमार रुम्बाले जानकारी दिनुभयो । कार्यक्रममा वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेल, सहायक प्रधानाध्यापक उमा कुमारी ढुङ्गेल, शिक्षक रत्नबहादुर स्याङ्तान, सरिष्मा भोम्जन लगायतको सहभागिता रहेको थियो ।