उपचार पछि डिस्चार्ज हुँदै ।

हेटौंडाः बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि आइतबार डिस्चार्ज हुनुभएको छ । मुटुसम्बन्धी समस्याबाट देखिएपछि असोज ४ गते अस्पताल भर्ना हुनुभएका प्रदेश प्रमुख शर्मा असोज १४ गते बेलुका डिस्चार्ज हुनुभएको हो ।

प्रदेश प्रमुख शर्माका स्वकीय उपसचिव पारशमणि फुँयालका अनुुसार प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो । प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

‘उपचारपछि पूर्णरुपमा घरमै स्वास्थ्य लाभ गरिरहेको छु ।’ प्रदेश प्रमुख शर्माले भन्नुभयो, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्मा मंगलबार फलोअपपछि नियमित काममा फर्कनुहुने स्वकीय उपसचिव फुँयालले जानकारी दिनुभयो ।