हेटौंडा : राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ वडा कमिटीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालय रहेको भवनको सभाहलमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १९ जना पुरुष र १ जना महिलाले रक्तदान गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ वडा कमिटीका अध्यक्ष बिवेक दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै बिच विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण भण्डारी, नेकपा एमाले हेटौंडा नगर कमिटीका सचिवालय सदस्य तथा वडा इन्चार्ज विष्णुमणि अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु नरेन्द्र भण्डारी, रमिला सापकोटा, सानु लामा, सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो ।