गुगल तस्बिर ।

हेटौंडाः शिक्षक सेवा आयोगले २०७२ सालदेखि आयोगको परीक्षामा सहभागी भएका उम्मेद्वार मध्ये सफल, वैकल्पिक उम्मेदवारसँगै उत्तीर्णाङ्क प्राप्त गर्ने उम्मेदवारको करार सूचि पनि तयार पार्ने गरेको छ । यसरी तयार पारिएको करार सूचिमा समावेश भएका उम्मेदवारहरुले विद्यालयमा शिक्षक आवश्यक हुँदा तह, विषय मेल खाने अवस्था रह्यो भने योग्यताक्रमका आधारमा माथिल्लो योग्यताक्रमका शिक्षकले सिधै नियुक्तिको अवसर पाउने व्यवस्था गरिएको छ ।

विद्यालयमा विविध कारणले रिक्त हुने शिक्षक दरबन्दीलाई छिटो पूर्ति गर्ने र दक्ष जनशक्ति समेत हुने अपेक्षासहित आयोगले करार सूचिको व्यवस्था गरेको हो । तर, विद्यालयहरुले भने आफूखुसी, आफ्नो स्वार्थमा शिक्षक नियुक्तिका लागि करार सूचिमा रहेका उम्मेदवारलाई आवेदन समेत दिन रोक्ने गरेको पाइएको छ ।

हेटौंडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयले असोेज ३ गते शिक्षक आवश्यकताको सूचना प्रकाशित गरेको थियो । विद्यालयले सूचना प्रकाशित गर्दा शिक्षक सेवा आयोगको करार सूचिमा भएकाले सात दिनभित्र दरखास्त दिन जानकारी गराउँदै योग्यताक्रमका आधारमा करार सूचिमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने उल्लेख गरेको छ । तर, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले करार सूचिमा रहेकालाई आवेदन नै दिनबाट रोक लगाएको छ ।

शिक्षक सेवा आयोगले लिएको परीक्षामा करार सूचिमा रहनुएकी हेटौंडा–१५ की सरस्वती योञ्जनले आफ्नै वडामा रहेको विद्यालयमा आवेदन खुल्दा करार सूचिमा रहेको जनाउँदै आवेदन दिन विद्यालय पुग्दा विद्यालयले आवेदन नै नबुझेको गुनासो गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक प्रमोद चौधरी र अध्यक्ष वीरमान घलानले महिला शिक्षकले बढी विदा लिने भएकोले नियुक्त गर्न नचाहेको प्रतिक्रिया दिँदै निवेदन नै दर्ता नगरेको पीडित योञ्जन बताउनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान घलानले सरस्वती योञ्जनको मात्रै नभएर करार सूचिमा रहेका कसैको पनि आवेदन नलिएको स्वीकार्नुभयो । उहाँले विद्यालयको तर्फबाट गल्ती भएको पनि स्वीकार्नु भएको छ । योञ्जनको आवेदन नलिएको विषयमा बुझ्न खोज्दा प्रधानाध्यापक प्रमोद चौधरीको टेलिफोन सम्पर्क हुन सकेन ।

योग्य उम्मेदवारलाई नियुक्त नगर्ने विद्यालयको कार्य निन्दनीय भएको भन्दै शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले महासंघको तर्फबाट सरोकारवालालाई ध्यानाकर्षण गराउने बताउनुभएको छ । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षले आफ्ना मान्छेलाई नियुक्त गर्न शिक्षक आवश्यकताको सूचना प्रकाशित गरेपछि सम्पर्कमा नरहने, करार सूचिमा रहेकाको आवेदन नै नलिने जस्ता गलत कार्यको विषयमा सरोकारवालालाई ध्यानाकर्षण गराउने अधिकारीले बताउनुभयो ।

आयोगले स्पष्ट पारेको, शिक्षक आवश्यकताको सूचना प्रकाशित गर्दा नै स्पष्ट खुलाएको विषयमा विद्यालयले बद्मासी गर्ने अवस्था रहँदा हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले नै शिक्षक रिक्त रहेका विद्यालयमा करार सूचिमा रहेका उम्मेद्वारलाई नियुक्त गरी पठाउने व्यवस्थापन मिलाउन पनि महासंघले भनेको अधिकारीले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले विद्यालयले करार सूचिमा रहेका उम्मेद्वारको आवेदन नै नलिनु गलत भएको जीकिर गर्नुभएको छ । यस विषयमा आवश्यकताअनुसार शिक्षा महाशाखाले बुझ्ने पनि रिमालले बताउनुभएको छ ।