हेटौंडाः सामुदायिक सेवा केन्द्र पशुपतिनगरको आयोजनामा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको छ । हेटौंडा–९ स्थित सेवा केन्द्रको सभाहलमा भएको सुनुवाई कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले नै प्रहरीसँग गुनासो पोखेका छन् ।
हेटौंडा–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठले प्रहरीले जनप्रतिनिधिसँग समन्वय नगरेको भन्दै गुनासो गर्नुभयो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुखका रुपमा सोमेन्द्र सिंह राठोर तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरमा नयाँ प्रमुख आउनुभएपछि अपराध नियन्त्रणका लागि जनप्रतिनिधिहरुसँग समन्वय नै नगरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । अपराध नियन्त्रणका लागि कुन वडामा कस्ता किसिमका मानिस बसोबास गर्छन् र उक्त वडामा के–कस्ता अपराधका घटना हुने गर्दछ भनेर सम्बन्धित वडाका जनप्रतिनिधिलाई जानकारी हुने हुँदा प्रहरीले अपराध न्यूनीकरणका लागि जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने उहाँको भनाई छ ।
हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले ९ नम्बर वडा लागूऔषधको ट्रान्जिट पोइन्टको रुपमा रहेकाले प्रहरीले हेटौंडा–९ मा अलि बढी ध्यान दिनुपर्ने बताउनुभएको छ । आफू वडा अध्यक्षमा निर्वाचित भएर आएपछि लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि धैरै कामहरु भएको बताउनुहुँदै उहाँले हेटौंडा–९ का केही व्यक्तिहरुसहित बाहिरी स्थानका व्यक्तिहरुले हेटौंडा–९ लाई लागूऔषध ओसारपसारको बाटो तथा भण्डार गर्ने स्थानको रुपमा प्रयोग गर्ने गरेकाले यसमा पनि विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आग्रह गर्नुभएको छ ।
हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलानले मदिरा सेवन गरेर झैझगडा गर्ने घटनाहरु आफ्नो लागि सामान्यजस्तै भएको भन्दै वडाबाट प्रहरी कार्यालय टाढा हुँदा वडामा दैनिकजसो झैझगडाका घटनाहरुलाई सकेसमम वडामै मिलाउने नत्र त्यसै छाडिदिने गरेको बताउनुभएको छ । झैझगडाको विषयमा प्रहरीले मुद्दासमेत दर्ता नगर्ने र नजिकै प्रहरी कार्यालय पनि नभएकाले वडामा दैनिकजसो मदिरा सेवन र लागूऔषध सेवन गरी झगडा हुने हुँदा धेरै समस्या भइरहेको भन्दै उहाँले वडामा प्रहरी चौकी स्थापना गर्न माग गर्नुभएको छ ।
कार्यक्रममा सहभागी हेटौंडा–९ का विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुले पछिल्लो समय कोरोनाको कारण बताउँदै प्रहरीले वडामा गस्ती गर्न छाडेकाले पुनः मदिरा सेवन, लागूऔषध प्रयोग, चोरीजस्ता घटनाहरु वृद्धि भएको गुनासो गरेका छन् । साथै कुनै घटना घटेर प्रहरीलाई फोन गर्दासमेत बेवास्ता गरिएको बताएका छन् ।
प्रगति मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले विद्यालयको १ सय मिटर वरिपरि सुर्तीजन्य तथा मादकपदार्थ बेच्न नपाइने नियम भएपनि विद्यालयको गेटअगाडि नै बिक्री भइरहेका कारण प्रहरीद्वारा अनुगमन गर्न माग गर्नुभएको छ । धेरैपटक यस्ता सामान नराख्न आग्रह गर्दा व्यक्तिगत रिस लिने गरेको बताउनुहुँदै उहाँले कम्तीमा पनि विद्यालय सञ्चालन अवधिभर पसल बन्द गर्ने गरी कडाई गर्न अनुरोध गर्नुभएको छ ।
स्थानीय हरिशरण कार्कीले मकवानपुरमै कार्यरत केही प्रहरीहरु इमान्दार हुन नसकेको आरोप लगाउनुभएको छ । पक्राउ परेका लागूऔषध गाँजा, मदिराहरु प्रहरीले नै अन्त लगेर बेच्ने गरेको भन्दै यस विषयमा निष्पक्षरुपमा छानविन गर्न माग गर्नुभएको छ । यस्तै नदीजन्य पदार्थ उत्खनन् गर्न बन्देज रहेको अवस्थामा पनि गिट्टी, बालुवा ओसार्ने ट्रयाक्टरहरुबाट ५० रुपैयाँको रिचार्ज कार्डदेखि ५ सय रुपैयाँसम्म लिएर प्रहरीले छाड्ने गरेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले संस्थालाई सही ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक सेवा केन्द्रले यस्ता कार्यक्रमहरु नियमितरुपमा गर्नसकेमा संस्थाको उद्देश्य प्राप्ति हुने र प्रभाव बढ्ने बताउनुभयो । विभिन्न ठाउँमा नियमितरुपमा यस्ता कार्यक्रमहरु आयोजना भएमा त्यहाँ रहेका समस्याहरु उजागर हुने तथा त्यसको न्यूनीकरणमा सहज हुने उहाँको भनाई छ ।
कार्यक्रममा उठेका विषयहरुको बारेमा बोल्नुहुँदै प्रमुख खुलालले यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि स्थानीय नागरिकहरुसमेत सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । चाडपर्व नजिकिँदै गर्दा यस किसिमका घटनाहरु अझै बढ्नसक्ने भएकाले यस्ता घटनाहरुको विषयमा प्रहरीलाई तुरुन्त जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । हामीले यस्ता घटनाहरु हुन नदिन आफू पनि जिम्मेवार नागरिकका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । हामीले अरुलाई दोष दिइरहँदा आफू कत्तिको जिम्मेवार छौं भनेर हेर्न पनि उहाँले आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले प्रहरीले घुस लिने तथा लागूऔषध र मदिरा लगेर बेच्ने भन्ने आरोपहरुका विषयमा प्रमाणसहित कसैको डरबिना आउन आग्रह गर्नुभएको छ । यस्ता घटनाहरु प्रमाणित भएमा दोषीलाई आवश्यक कारवाही गर्ने पनि उहाँले बताउनुभयो । जिल्लामा आवश्यक प्रहरी जनशक्ति कम भएकाले सोचेअनुरुप काम गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।
इलाका प्रहरी कार्यालयहरुमा सवारी साधनको कमी रहेकाले पनि नियमित गस्तीहरु गर्न नसकिएको उहाँको भनाई छ । सामुदायिक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरीनिरीक्षक सोरप छिरिङ तामाङ लगायतको पनि उपस्थिति रहेको थियो ।