हेटौंडाः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशका कामकारवाहीमा आफूहरु समझदारिताका साथ अगाडि बढ्ने बताउनुभएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमबाट फर्किने क्रममा पत्रकारहरुसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री शाक्यले प्रदेशमा सरकार परिवर्तन हुने हल्ला चलिरहेपनि सरकारलाई स्थिरता प्रदान गर्न समझदारिताका साथ लागि पर्ने उहाँले बताउनुभएको हो ।
नेकपा एमालेका प्रदेश सांसद नेकपा एकीकृत समाजवादीमा गएर सरकार अल्पमतमा रहँदा के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँहरुसँग हिजोको सम्बन्ध राम्रो रहेको कारण प्रतिपक्षबाट त्यति असहजता नहुने उहाँको भनाइ छ । सरकारलाई स्थिरता प्रदान गर्नका लागि सकेसम्म प्रतिपक्षलाई पनि मिलाएर नै अघि बढ्ने उहाँले बताउनुभयो ।
विश्वासको मत लिने विषयमा उहाँले अहिले कुनै हतार नभएको संकेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘भदौ २२ गतेसम्म नयाँ पार्टीमा सनाखत गर्ने समय रहेकाले पार्टी छुट्टीने स्थिति अहिले नै पूरा नभइसकेकाले २२ गते पछाडी उहाँहरु जसरी आउनुहुन्छ हामी त्यसरी नै जान्छौं ।’ अहिले सरकार परिवर्तन हुने कुरामा कुनै चिन्ता नभएको पनि मुख्यमन्त्री शाक्यले बताउनुभयो ।
राजनीतिमा अस्थिरता आउने बित्तिकै चिन्ता लिने र स्थिर हुने बित्तिकै मात्तेर अगाडि बढ्ने कुराको पक्षमा आफूहरु नभएको उहाँको भनाई रहेको छ । सरकारमा जतिदिन बसेपनि आफ्नो नैतिक धरातललाई बिचलित नबनाउने तथा इमान्दारिताका साथ जनताका लागि जे गर्न सक्छौं त्यो काम गरेर सरकार छाड्नुपर्ने उहाँले बताउनुभयो ।