मंगलबार बिहान हेटौंडा–१, चौकीटोलमा नवज्योति पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिँदै ।

हेटौंडाः पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन भएको छ । १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।

मंगलबार बिहान हेटौंडा–१, चौकीटोलमा नवज्योति पुस्तकालय स्थापना भएको छ । २०४७ सालमा स्थापना भएको नवज्योति पुस्तकालय २०५७ सालदेखि बन्द अवस्थामा थियो । पुस्तकालय अभियान समूहको सहयोगमा मंगलबार पुस्तकालय सुचारु गर्ने गरी उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो । पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष न्यौपानेले पुस्तकालय नियमित सञ्चालनमा व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मकवानपुरगढी गाउँपालिका–५, धादिङमा हाम्रो पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिँदै ।

नवज्योति पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गर्न जेसीआई हेटौंडा लेडीले पुस्तकालय अभियान समूहलाई सहयोग गरेको हो । जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले पुस्तकालय उद्घाटनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पुस्तकालयका संस्थापक सचिव एकालाल श्रेष्ठले स्थापना कालमा आफूहरुले निक्कै मिहिनेत गरे पनि नयाँ पुस्ता तयार गर्न नसक्दा पुस्तकालय बन्द हुन पुगेको स्मरण गर्नुभयो । अब भने पुस्तकालय नियमित सञ्चालन गर्न नया“ पुस्ता तयार पारिने उहाँको भनाइ छ ।

मंगलबार बिहानै मकवानपुरगढी गाउँपालिका–५, धादिङमा हाम्रो सामुदायिक पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुस्तकालयको उद्घाटन गर्नुभएको हो । पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद गर्न मकवानपुरगढी गाउँपालिकाकै १० जनाले ५० हजार रुपैयाँ पुस्तकालय अभियान समूहलाई सहयोग गरेका हुन् । पुस्तकालय अभियान समूहकै सहयोगमा यसअघि मकवानपुरगढी–३, मक्रान्चुलीमा पनि प्रजातान्त्रिक पुस्तकालय स्थापना गरिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पालिकाका सबै वडामा पुस्तकालय स्थापना गर्न र स्थापित पुस्तकालयलाई नियमित सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पुस्तकालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जीतबहादुर घिमिरे, ६ नम्बर वडा अध्यक्ष टीकाप्रसाद दाहालको पनि उपस्थिति रहेको थियो ।

हेटौंडा–१८, दोभानचौरमा पुस्तकालय स्थापनामा सक्रिय स्थानीयलाई पुस्तकालय अभियान समूहका सदस्यहरुले आभारपत्र हस्तान्तरण गर्दै ।

यस्तै मकवानपुरको बकैया गाउँपालिका–७, हात्तीचरणमा हात्तिचरण सामुदायिक पुस्तकालयको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन गरिएको हो । पुस्तकालय उद्घाटन कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष रामकाजी लामिछानेको पनि उपस्थिति रहेको थियो । पालिकामा दुईवटा पुस्तकालय स्थापना भइसकेको सन्दर्भमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता उपाध्यक्ष बोलखेले गर्नुभएको छ ।

यस्तै भीमफेदी गाउँपालिका–४, निबुवाटारमा ज्ञानज्योति पुस्तकालय उद्घाटन गरिएको छ । पुस्तकालयका अध्यक्ष अनिल अधिकारीको अध्यक्षता तथा भीमफेदी गाउँपालिका–४ का वडा अध्यक्ष क्षेत्रबहादुर पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । मंगलबार नै हेटौंडा–१८, दोभानचौरमा दोभानचौर सामुदायिक पुस्तकालय उद्घाटन गरिएको छ । पुस्तकालयका अध्यक्ष नारायण बहादुर तिमल्सिनाको अध्यक्षता तथा वडा सदस्य तोयानाथ तिमल्सिनाको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो । पुस्तकालय उद्घाटनको अवसरमा वडा सदस्य तिमल्सिनाले पुस्तकालयका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुस्तकालय उद्घाटन समारोहमै वडा सदस्य तिमल्सिनाले पुस्तकालयलाई ५ हजार रुपैयाँ सहयोग समेत गर्नुभयो ।