राष्ट्रिय युवा संघ वडा कमिटीको बैठकमा बोल्नुहुँदैे जिसस प्रमुख रघनाथ खुलाल ।

हेटौंडाः पार्टी बलियो बनाउनका लागि भातृ संगठनहरुलाई बलियो बनाउने काम गर्नुुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभएको छ । शनिबार हेटौंडा–९ मा राष्ट्रिय युवा संघ वडा कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख खुलालले पार्टीमा विभिन्न समस्या देखापरिरहेको अवस्थामा पार्टीलाई बलियो बनाउन सर्वप्रथम भातृ संगठनहरुलाई सही नेतृत्व प्रदान गर्दै सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

पार्टीलाई आवश्यक पर्दा हरेक क्षण भातृ संगठनहरु अगाडि बढ्ने भएकाले पार्टीलाई अड्याउने खम्बा भनेकै भातृ संगठन भएको उहाँले बताउनुभयो । नेकपा एमालेबाट अहिले माधव नेपालसहितको एक समूह चोइटिएर जाँदा खासै असर नपर्ने भएपनि चुप लागेर बस्न भने नहुने उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो, ‘यसअघि पनि पार्टी फुटाएर गएकाहरुको अवस्था अहिले कस्तो छ भनेर देखेका छौं, तर यसो भन्दैमा हामी चुप लागेर हात बाँधेर बस्न हुँदैन ।’ जनतालाई पार्टीप्रति आकर्षित गर्न जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका कामहरुसहित भातृ संगठनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको पनि प्रमुख खुलालले बताउनुभयो ।

हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले पछिल्लो समय विकास निर्माणका कामहरुलाई पनि राजनीतिक मुद्दा बनाएर विपक्षी पार्टीका कार्यकर्ताहरुले अवरोध गर्न सुरु गरेको गुनासो गर्नुभयो । चुनाव नजिकिँदै गर्दा र आफ्नो पार्टी सरकारमै गएका कारण पनि हुनसक्ने भन्नुहुँदै वडा अध्यक्ष भण्डारीले अहिले त नागरिकता बनाउनका लागि पनि उनीहरुले नै सिफारिस गर्नुपर्ने, वडा कार्यालयको ढोकामा आएर बस्ने गरेको जानकारी दिनुभयो । हाल पार्टीको विवादका कारण वडास्तरमा पनि कुनै राजनीतिक कार्यक्रम नभई बस्नुपरेको अवस्थामा विपक्षी पार्टीले दबाव सिर्जना गर्न खोजेका कारण उनीहरुलाई झापड दिर्ने किसिमले वडामा ठूलै कार्यक्रमको आवश्यकता महसुस भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा संघ हेटौंडा ९ नम्बर वडा कमिटीका अध्यक्ष शम्भु गुप्ताको सभाध्यक्षतामा बसेको बैठकले भदौ १९ गते शनिबार युवा भेला आयोजना गर्ने निर्णय गरेको छ । युवा भेलाबाट राष्ट्रिय युवा संघ वडा कमिटीको नेतृत्व हस्तान्तरण भई कमिटी पुनर्गठन हुने जनाइएको छ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने युवा भेलामा पार्टी प्रवेशलगायतका कार्यक्रम हुने पनि अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्यहरु सुदर्शन अर्याल, आशाकाजी श्रेष्ठ, मीना अर्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु नरेन्द्र भण्डारी, सुनिल लोप्चन, रमिला सापकोटालगायत नगर सदस्यहरु तथा वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।