हेटौंडाः गत साउन ३१ गतेबाट परीक्षा हुने भनिएिको कक्षा १२ को परीक्षा स्थगित भएपछि अहिलेसम्म राष्ट्रिय परीक्षा बोर्डले कुनै निर्णय लिन सकेको छैन । बोर्डले स्थगित परीक्षा पुनः सञ्चालन गर्नेबारे निर्णय लिन नसक्दा देशभरका करिब साढे तीन लाख विद्यार्थीमा अन्यौलता बढेको छ ।
हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका कक्षा १२ को परीक्षा दिने तयारीमा रहेकी अस्मिता दाहाल भन्नुहुन्छ–‘परीक्षा तोकेको समयमा हुनुपथ्र्यो, तर भएन । कक्षा १२ का विद्यार्थीहरु उच्च शिक्षामा प्रवेश गर्ने ढोकामा कुरेर बसिरहेका छन् ।’ कोरोना संक्रमणको जोखिमलाई कारण बनाएर तोकिएको परीक्षा स्थगित गर्दा केही गरौं भन्ने उद्देश्य बोकेका विद्यार्थीहरु मर्कामा परेको दाहालले बताउनुभयो ।
कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षा अध्ययन गर्दै केही काम गरेर आत्मनिर्भर बन्ने सोच बनाएको भए पनि परीक्षा रोकिएपछि सबै योजना असफल हुँदै गएको दाहालले बताउनुभयो । ‘परीक्षा हुने भएपछि काम पनि छाडेँ’, दाहाल भन्नुहुन्छ– ‘अहिले न परीक्षा भयो, न त काम नै भयो ।’ परीक्षा हुने भनेपछि पढाइमा ध्यान दिएर परीक्षाको तयारी गरेको भए पनि परीक्षा स्थगित भएपछि पढाइमा ध्यान पनि जान छाडेको उहाँले बताउनुभयो ।
मकवानपुर क्याम्पसकै कक्षा १२ को परीक्षा दिने तयारीमा बसेकी रश्मी सिग्देलले परीक्षा स्थगित हुँदा अध्ययनमा थप समय पाइने भए पनि परीक्षाको अनिश्चितताले पढाइमा ध्यान नगएको बताउनुभयो । भौतिक उपस्थितिमा पठनपाठन भएको बेला लिएको परीक्षाको भन्दा ५/६ महिना पठनपाठन नभई यत्तिकै घरमा समय बिताएपछि लिइएको परीक्षाको नतिजामा धेरै भिन्नता हुने सिग्देलको भनाई छ । लामो समय पढाइले निरन्तरता नपाएपछि परीक्षा लिनु र नलिनुमा कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।
परीक्षाको तयारी जति हुनुपथ्र्याे त्यति नभएपनि सन्तोषजनकरुपमा परीक्षाको तयारी गरेको भन्दै पढाइ नै नभइरहेको समयमा परीक्षा दिँदा पढाइको गुणस्तर सँगै नतिजा खस्किने सिग्देलले बताउनुभयो । सार्वजनिक भएको परीक्षाको तालिका रद्द गरेर विद्यार्थीलाई अन्यौलमा पार्ने काम भएको उहाँले बताउनुभयो । धेरै सम्भावना बोकेका युवा विद्यार्थीहरु नै अहिलेको विषम परिस्थितिमा कुन बाटो अंगाल्दैछन् भन्ने कुरामा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा सिग्देलले जोड दिनुभयो ।
कक्षा १२ को परीक्षा दिन कुरिरहनुभएकी कला नेपालले परीक्षा दशैं अगावै गर्ने हो भने सम्पूर्ण विद्यार्थीलाई कोरोना भाइरसविरुद्वको खोप लगाउनुपर्ने बताउनुभयो । परीक्षाको तयारी भन्दा पनि स्वास्थ्य ठूलो भनेर परीक्षा हुने बेलामा रोक्ने काम शिक्षा मन्त्रालय तथा राष्ट्रिय परीक्षा बोर्डले गरेको भन्दै यतिखेर आएर कोरोना भाइरसको तेस्रो लहरको रुपमा विकराल रुप लिएको अवस्थामा परीक्षा लिने निर्णय गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
सरकारले दशैं अगावै परीक्षा सञ्चालन गरेमा पनि खोप लगाउन सकिने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी प्रणय उपाध्याय बताउनुभयो । असोज महिना अगाडि नै कक्षा १२ का विद्यार्थीलाई खोप लगाइसक्ने उहाँले जानकारी दिनुभयो । १८ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउन मिल्ने भएकाले उमेरको समूह तोकेर अनलाइन फर्म भरेका १८ वर्षमाथिका १० हजार जनालाई १५ दिन अघिमात्र खोप लगाएको उहाँले बताउनुभयो ।
पालिकाहरुमार्फत् वडावडामा एस्ट्राजेनेका खोप लगाउने काम भइरहेको बताउनुहुँदै उपाध्यायले उमेर पुगेका प्लस टुका विद्यार्थीले खोपमा प्राथमिकता पाउने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले उमेर पुगेका कक्षा १२ का सम्पूर्ण विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड शाखा मकवानपुरका प्रमुख कृष्ण घिमिरेले परीक्षाको तयारी बोर्डले गरिरहेको भए पनि परीक्षा कहिले गर्ने भन्ने कुनै निर्णय नलिएको बताउनुभयो । सञ्चार माध्यममा दशैं अगावै परीक्षा भन्ने कुरा आ-आफ्ना तर्कमात्र रहेको आरोप उहाँले लगाउनुभयो । कोरोना भाइरस संक्रमणको अवस्था सामान्य हुनासाथ परीक्षा तालिका सार्वजनिक गर्न बोर्ड तयार रहेको उहाँले बताउनुभयो ।अहिले संक्रमण कायम नै भएकाले निर्णय लिन नसकिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । विद्यार्थीलाई खोप लगाएरमात्र परीक्षामा समावेश गराउनुपर्ने माग भए पनि प्रायः विद्यार्थी १८ वर्षभन्दा मुनिका भएकोले खोप लगाउन नमिल्ने उहाँले बताउनुभयो ।
मकवानपुर जिल्लाबाट कक्षा १२ का परीक्षाका लागि ५ हजार ३ सय ९१ जना विद्यार्थी परीक्षाको प्रतीक्षामा रहेका छन् । सार्वजनिक भएको परीक्षा तालिका रोकिँदा सरकारले निर्णय लिन सकेको छैन । परीक्षा कहिले गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड अन्यौलमा हुँदा विद्यार्थी यतिखेर के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्यौलमा परेका छन् ।