आइतबार हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको भीड ।

हेटौंडाः दिन बिराएर बैंक खोल्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णयले सर्वसाधारण नागरिकहरुले सास्ती व्यहोर्दै आउनुपरेको छ । प्रशासनले पछिल्लो समय बैंकहरु दिन बिराएर खोल्ने निर्णयका कारण बैंकमा आएका सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा रहेका बैंकहरु आलोपालो मिलाएर हप्तामा ३ दिनमात्र खोल्ने निर्णय भएपछि बैंकहरुमा सेवाग्राहीहरुको भिड लागेको छ । कोरोना जोखिम नियन्त्रण गर्न भिडभाड कम गर्नुपर्ने भनिरहँदा प्रशासनको निर्णयकै कारण बैंकहरुमा भीडभाड बढेको छ । बैंकमा आउने सर्वसाधारण १ देखि २ घण्टासम्म लाइनमा उभिनुपर्ने बाध्यता रहेको छ ।

आइतबार हेटौंडास्थित एक बैंकमा बैंकको सेवा बन्द भएको सूचना पढ्दै सेवाग्राही ।

हप्तामा ३ दिन मात्र बैंक खुल्ने भएपछि चाँडै पालो आउला भन्ने आशमा अधिकांश सेवाग्राहीहरु बैंक खुल्नुभन्दा अगाडिदेखि नै लाइनमा बस्ने गरेका छन् । बैंक बाहिर लामबद्ध सेवाग्राहीले भौतिक दूरी कायम गर्ने विषयमा भने केही सचेत भएको पाइएको छ । अरु दिनमा भन्दा दिन बिराएर बैंक खोल्ने निर्णयपछि बैंक बाहिर सेवाग्राहीहरुको बढी भिड लागेको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत सुरक्षागार्डले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको कामले वाणिज्य बैंकमा आधा घण्टादेखि लामबद्ध हुनुभएका हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका अहेव केशव तिमल्सिनाले प्रशासनको निर्णयले आफूसहित सबै सेवाग्राहीले समस्या झेल्नुपरेको बताउनुभयो । अहिलेको अवस्थामा भिडभाड नगरी सेवा प्रवाह गर्नुपर्ने अवस्थामा प्रशासनले झनै भिडभाड गर्ने काम गरेको उहाँले गुनासो गर्नुभयो । प्रशासनले कोरोना संक्रमण नियन्त्रण गर्ने भनिरहेपनि बैंकमा लाग्ने गरेको भिड र कोरोना बिरुद्धकै खोप लगाउने बेला लाग्ने गरेको भिड नदेखेको पनि बताउनुभयो ।

थाहा नगरपालिका–९ का राजेन्द्र बस्नेतले आइतबार १ घण्टा लाइनमा बस्दा २ पटक पानी परेर भिज्नुपरेको बताउनुभयो । बैंक अगाडि लामबद्ध सेवाग्राहीलाई बस्ने तथा पानीबाट जोगिने समेत स्थानको अभाव हुँदा गाह्रो भएको उहाँको गुनासो छ । साथै दिन बिराएर बैंक खुल्दा बैंक मार्फत गर्नुपर्ने अन्य कामहरु पनि समयमै गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो ।

यस्तै कृषि विकास बैंकमा भत्ता लिन आउने गरेका ज्येष्ठ नागरिकले पनि उत्तिकै समस्या व्यहोर्नुपरेको छ । ज्येष्ठ नागरिकहरुसँग दिन बिराएर बैंक खुल्ने र कुन कुन बार बैंक खुल्ने भन्ने विषयमा जानकारी नै नहुँदा बैंकसम्म आएर त्यसै फर्कनुपरेको छ । बैंकका सुरक्षागार्डका अनुसार बैंक बन्द भएका बेला पनि ज्येष्ठ नागरिकहरु भत्ता लिन आउने गरेको र भोलिपल्ट आउन आग्रह गर्दै पठाउने गरिएको छ । साथै भोलिपल्ट आउँदा समेत भिडभाड धेरै भएर ज्येष्ठ नागरिकहरुसमेत घण्टौंसम्म लाइनमा उभिनुपर्ने अवस्था रहेको छ । अधिकांश सर्वसाधारणहरुलाई कुन बैंक कुन बार खुल्ने भन्ने विषयमा अन्यौलता भएकै कारण पनि बैंकसम्म आएर फर्किनुपरेको छ ।

बैंकमा मात्र नभएर हेटौंडामा व्यवसायहरु सञ्चालन गर्ने समय कम गर्दा पनि भिडभाड बढ्दै गएको छ । थोरै समयमात्र पसल खोल्न पाउँदा व्यवसायीहरु पनि हैरान भएका छन् भने सर्वसाधारणहरुले पनि उत्तिकै सास्ती व्यहोर्नुपरेको छ । बजारमा भिडभाड कम गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरे पनि थोरै समय मात्र व्यवसाय सञ्चालन भएकै कारण निजी सवारीको चापसँगै बजारमा ट्राफिक व्यवस्थापनमा समेत कठिनाई बढ्दै गएको छ । यसप्रति जिल्ला प्रशासन कार्यालयले ध्यान दिनु जरुरी छ भने सर्वसाधारणले पनि स्वास्थ्य मापदण्डको पालना गरी कोरोना संक्रमण नियन्त्रण गर्न सकेमा स्वतः यी समस्याहरुबाट छुटकारा मिल्नेछ ।