Home मुख्य समाचार वैकल्पिक शिक्षण सिकाईमा पछि पर्‍यो राक्सिराङ, आधारभूत तहमा स्थानीय पाठ्यक्रम पठनपाठन हुने

वैकल्पिक शिक्षण सिकाईमा पछि पर्‍यो राक्सिराङ, आधारभूत तहमा स्थानीय पाठ्यक्रम पठनपाठन हुने

फाइल फोटोः राक्सिराङ गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत्का पाठ्यपुस्तकहरु ।

हेटौंडाः स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन सुरु गर्ने जिल्लाकै पहिलो पालिका हो, राक्सिराङ गाउँपालिका । तर, राक्सिराङ गाउँपालिकामा वैकल्पिक शिक्षण सिकाईबाट पठनपाठन हुन सकेको छैन । सरकारले वैकल्पिक शिक्षण सिकाई निर्देशिका २०७७ जारी गरेर सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा वैकल्पिक शिक्षण सिकाई अपनाई पठपाठन गर्न आग्रह गरेको भए पनि राक्सिराङमा कुनै वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुन सकेको छैन ।

इन्टरनेट, मोबाइल, टिभी र रेडियो आदि सञ्चार माध्यमको पहुँच नभएकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । वैकल्पिक शिक्षाको रुपमा विद्यार्थीहरुलाई पाठ्यपुस्तक मात्र वितरण गरिएको उहाँले बताउनुभयो । असार र साउन महिना वर्षात्को समय भएकाले वैकल्पिक विधिबाट पठनपाठन गराउन सम्भव नभएको अध्यक्ष मल्लले बताउनुभयो ।

पालिकामा रहेका ५३ वटा विद्यालयका विद्यार्थीलाई पालिकाले तयार पारेको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम र र नेपाल सरकारद्वारा वितरित निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको राक्सिराङ गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले बताउनुभयो । विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गरिएसँगै विद्यार्थीलाई पुस्तक वितरण गरिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस संक्रमण साथसाथै वर्षात्को समयमा भौगोलिक दृष्टिले दुर्गम स्थल भएकाले बालबालिका तथा शिक्षकहरु एक ठाउँबाट अर्को ठाउँमा जान कठिनाई तथा चिप्लिएर लड्ने, पानीले भिझ्ने हुँदा वैकल्पिक शिक्षण सिकाई हुन नसकेको उहाँले बताउनुभयो । गाउँपालिकाको कक्षा ५ सम्मका ४ हजार विद्यार्थीले पाठ्यक्रम अध्ययन गर्ने पराजुलीले बताउनुभयो ।

विद्यार्थीले स्थानीय पाठ्यक्रमबाट राक्सिराङ कस्तो भौगोलिक क्षेत्र हो ? कस्ता फलफूल तथा कृषि उब्जनी हुन्छ ? तामाङ र चेपाङ जातिका संस्कृति, जडीबुटी, मन्दिर, धर्म, पर्यटकीय स्थल, रहनसहन आदिबारे ज्ञान हासिल गर्नसक्ने उहाँले बताउनुभयो । गत वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको भएपनि यसवर्ष भने कोरोनाका कारण पढाई सम्भव हुन नसकेको शिक्षा अधिकृत पराजुलीले बताउनुभयो ।

वैकल्पिक शिक्षण सिकाईका रुपमा विद्यालयले भर्ना तथा अभिलेखीकरण गरी पुस्तक विद्यार्थीलाई हस्तान्तरण गर्नमात्र सम्भव भएको उहाँले बताउनुभयो । वैकल्पिक शिक्षण सिकाई नअपनाएको भन्दा पनि अरु पालिकाको तुलनामा अपनाउन नसकिएको उहाँले जानकारी दिनुभयो । आगामी भदौको अन्तिम हप्तासम्म कक्षा ६ देखि ८ सम्मका स्थानीय पाठ्यक्रम तयार गरिने उहाँले बताउनुभयो । सम्भव भएसम्म यस वर्षबाट, नभए अर्को वर्षबाट कक्षा ८ सम्मका लागि स्थानीय पाठ्यक्रम पठनपाठन सुचारु हुने उहाँले बताउनुभयो ।

Exit mobile version