
हेटौंडाः जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जन्मदिनको अवसरमा जेसीआई हेटौंडा लेडीको सचिवालय भवन निर्माणका लागि एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित संस्थाको नेतृत्व गरिरहँदा संस्थाको पनि संस्थागत विकास गर्न आफूले जन्मदिनको अवसरमा सहयोगको घोषणा गरेको बताउनुभएको छ ।
आइतबार जन्मदिनको अवसरमा साथीभाईसँग शुभकामना आदानप्रदानको क्रममा श्रेष्ठले सहयोगको घोषणा गर्नुभएको हो । सन् १९९८ मा स्थापित जेसीआई हेटौंडा लेडीले सचिवालय भवन निर्माणका लागि हेटौंडा–१, चौकीटोलमा जमिन खरिद गरेको छ । संस्थाको नेतृत्व गर्दै गर्दा आफैंबाट सहयोगको घोषणा भएपछि अन्य व्यक्ति र संघ, संस्थाबाट पनि सहयोग प्राप्त हुने र सचिवालय भवन निर्माण हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिमा श्रेष्ठ नेतृत्वको जेसीआई हेटौंडा लेडीले यस वर्ष हेटौंडा–१ मै जेसीज गाउँ निर्माणको अभियान सञ्चालन गर्नुका साथै पुस्तकालय अभियान समूह मकवानपुरसँगको सहकार्यमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने कार्यक्रम समेत तय गरेको छ ।