हेटौंडाः विभिन्न कारणले मानव बेचबिखन बढिरहेको अवस्थामा नारी सीप सृजना केन्द्रको आयोजनामा शुक्रबार मकवानपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखनविरुद्व अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले सहजीकरण गर्नुहुँदै मानव बेचबिखन प्राविधिक विषय र समस्या नभएको बताउनुभयो । उहाँले बेचबिखनको बारेमा विभिन्न कुराहरुको अध्ययन र खोजी गर्नु आवश्यक रहेको बताउनुभयो । सूचना प्रवाहका साथसाथै सचेतना वृद्धिमा सञ्चारकर्मीहरुको दायित्व रहेको उहाँले बताउनुयभो ।
मिडियाले समस्याको कारण पत्ता लगाई समाधानको बाटो तथा उपायको खोजी गरिनु आजको आवश्यकत रहेको अधिवक्ता अधिकारीले बताउनुभयो । पीडित तथा प्रभावित केन्द्रित गरेरसमेत मानव बेचबिखन न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । पीडित र साक्षीको व्यक्तिगत गोपनीयता र सुरक्षामा सञ्चारकर्मीहरुले विशेष ध्यान दिई सत्यतथ्य समाचार सम्प्रेषण गरी मानव बेचबिखन न्यूनीकरणमा मिडियाको अहम् भूमिका रहेको उहाँको धारणा थियो ।
नारी सीप सृजना केन्द्र मकवानपुरले मानव बेचखिनविरुद्व ३ वर्षदेखि विद्यार्थी, शिक्षक, सञ्चारकर्मीलगायतलाई जगरुक बनाइरहेको छ । जिल्लाको बागमती गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुर जिल्लाका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सञ्चारकर्मीहरु राज्यको चौथो अंग भएकाले मानव बेचबिखनविरुद्धमा जुट्न आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । समाचारको खोजी गरी मानव बेचबिखनविरुद्व सचेत रहन सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गरी मानव बेचबिखनमा न्यूनीकरणमा सहयोग पुग्ने कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
मानव बेचबिखन समस्याः हिजो र आज
मानव बेचबिखन हिजो देह व्यापारका लागि हुने गर्दथ्यो भने आज श्रम शोषण, यौन शोषण, मानव अंग प्रत्यारोपण, भाडामा बच्चा जन्माउने आमाका लागि, भाडामा स्तनपान गराउने सुत्केरी महिलाका रुपमा हुने गरेको अध्ययनले देखाएको छ । बेचबिखनको गन्तव्य हिजो भारतका केही शहरमा मात्र सिमित थियो भने आज विश्वभर रहेको छ । पीडकले विगतमा विवाह, प्रेम सम्बन्धको जाल रच्थे भने हालमा वैदेशिक रोजगारदाता एवम् दलालका रुपमा प्रलोभनमा पारिरहेका छन् ।
मानव बेचबिखनमा परेका मानिसहरुलाई अमानवीय व्यवहार गर्ने गरिन्छ । रोजगारी तथा नागरिक हकबाट उन्मुक्ति गरिने गरिन्छ । यसैगरी सामाजिक बहिष्करण र बाँच्न पाउने हकबाट उन्मुक्ति गरिएको अवस्था छ ।
कुनै पनि व्यक्तिलाई इच्छाविपरीत काम लगाउन नहुने भन्ने कानुनी व्यवस्था भए पनि वैदेशिक रोजगारमा जानेहरुले धेरै घण्टा खटेर जबरजस्ती काम गर्नुपर्ने अवस्था रहेको छ । मानव बेचबिखन गरेमा २५ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवानाको सजाय नेपालको कानुनमा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् ।
मानव बेचबिखनरुपी व्यापारबाट विश्वव्यापीरुपमा वार्षिक करिब ३२ अरब अमेरिकी डलर आर्जन हुने गरेको तथ्यांकले देखाएको छ । विश्वव्यापीरुपमा हुने मानव बेचबिखनमध्ये ७५ देखि ८० प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने गरेको छ । विश्वभरमा करिब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बालबालिका बेचबिखनमा पीडितको रुपमा रहेका छन् ।
मानव बेचबिखनको फेरिँदो आयाममा शारीरिक अंगहरुको तस्करी रहेको छ । ३ जनामध्ये २ जना पीडित महिला तथा बालबालिका हुने गरेको पाइएको छ । विश्वव्यापीरुपमा नै मानव बेचबिखन रोक्न विभिन्न दातृ निकाय तथा संघसंस्थासमेत क्रियाशील रहेको अवस्था छ ।
मानव बेचबिखन एक जघन्य अपराध हो । तर मानव बेचबिखन अहिले पनि पुँजी कारोबारका रुपमा दोस्रो स्थानमा रहेको अवस्था छ । मानव बेचबिखन शोषण, गरिबी, अज्ञानता, हिंसा र भेदभावका कारण बढि हुने गरेको पाइएको छ । मानव बेचबिखनका विभिन्न कारणमध्ये यौनजन्य शोषण प्रमुख कारण रहेको विभिन्न तथ्यांक तथा अनुसन्धानहरुले प्रमाणित गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन २०७१ को तथ्यांकअनुसार १३ हजार मानिस मानव बेचबिखनमा परेको पुष्टि भएको छ । १६ हजार मानिस दलालद्वारा गरिएको मानव बेचबिखनको प्रयासबाट उद्दार गरिएका वा बच्न सफल भएका छन् । बेचबिखनमा भने जम्मा २९ हजार मानिस परेको तथ्यांकमा उल्लेख गरिएको छ । अयोगको तथ्यांकअनुसार वार्षिक २ लाख ५० हजारदेखि २ लाख ७० हजारसम्म नेपाली नागरिक दासता सहन बाध्य पारिन्छन् ।