हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा २७ थान विद्युतीय पोल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गएको बिहीबार मकवानपुरको बागमती गाउँपालिका–१ हात्तीढुंगे स्थित बाटो छेउमा रहेको ग्रीड सोला ईन्जिन ईफिसेन्सी आयोजनाको विद्युतीय स्टिल ट्युबलर विद्युतीय पोल २७ थान ट्रकमा लोड गरेर चोरी गरी झुरझुरेतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले पोलसहित गिरोहलाई पक्राउ गरेको हो ।
प्रहरीले विद्युतीय पोल चोरीको घटना आइतबार सार्वजनिक गर्दै बागमती गाउँपालिकाका स्थानीय सुरेश लामा र उमेश लामाको सहयोगमा उनीहरुले विद्युतीय पोल चोरी गरेको जनाएको छ । प्रहरीले चोरीमा संलग्न ट्रक चालक काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका–१ बस्ने ३० बर्षिय जयराम सापकोटा, ट्रकमा सवार उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ को ३१ ब्र्षिय विवेक पोखरेल, संखुवासभा खाँदवारी नगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षका हरी नेपाल, मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षको सुरेश लामा, २२ वर्षको उमेश लामा र मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिा–३ बस्ने बर्ष ३२ को धन बहादुर लामा र मोटरसाइकलमा सवार ४० वर्षका देव पौडेललाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरीको टोलिले बागमती गाउँपालिका–४ झुरझुरे स्थित धरान चतरा सडक खण्डमा पोल लोड भएको मे १ ख २५०३ नम्बरको को ट्रक र अनटेस्ट मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।