
हेटौंडाः मनहरीमा रहेको मनहरी सामुदायिक पुस्तकालयका लागि शनिबार समुदायबाट २ सय पुस्तक संकलन भएको छ । अघिल्लो शनिबार मात्रै स्थापना भएको पुस्तकालयका पदाधिकारीले शनिबार समुदायबाट पुस्तक संकलन अभियान सुरु गरेको हो ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ पुस्तकालयले सुरु गरेको पुस्तक संकलन अभियानमा ५ सय पुस्तक संकलन गर्ने लक्ष्य रहेको मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले जानकारी दिनुभएको छ । पुस्तक संकलन अभियानका क्रममा पाठकहरुको उत्साह देखिएको अध्यक्ष स्याङ्तानले बताउनुभयो । धेरै पाठकहरुले पुस्तक पढ्न रुचि राख्नुभएका कारण पठनशैली बढ्दै जाने उहाँले बताउनुभयो ।

व्यानरसहित सुरु गरिएको पुस्तक संकलन अभियानमा बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले पनि ५० भन्दा बढी पुस्तक दिनुभएको छ । बर्षाका कारण प्रभावित भएको अभियानको पहिलो दिन शनिबार १२ जनाबाट पुस्तक संकलन गरिएको हो । पहिलो दिन घरदैलो गरेर पुस्तक संकलन गरिएको जानकारी दिनुहुँदै पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले भन्नुभयो, ‘अब हामी घरदैलो भन्दा पनि समुदायमा पुस्तक सहयोगका लागि आव्हान गर्ने छौं । सहयोग गर्न चाहने व्यक्तिले जानकारी गराए हामी सम्बन्धित व्यक्तिलाई भेटेर पुस्तक संकलन गर्नेछौं ।’
अघिल्लो शनिबार पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा मनहरी–७, मनहरी बजारस्थित रोटरी माविको छात्रावास भवनमा मनहरी सामुदायिक पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय नियमित र व्यवस्थित रुपमा सञ्चालनका लागि छलफल चलिरहेको जानकारी गराउनुहुँदै अध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘समुदायले अपनत्व समेत गर्ने गरी वार्षिक न्यूनतम शूल्कमा एक घर, एक सदस्यको अवधारणामा जाने विषयमा छलफल भइरहेको छ । विद्यार्थीलाई भने सहुलियत दर कायम गरिने तयारीमा छौं ।’

पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेपछि स्थापना भएको पुस्तकालयका लागि मनहरी गाउँपालिकाले पनि ५० हजार रुपैयाँ बजेट उपलब्ध गराउने निश्चित भएको छ । यस्तै विभिन्न व्यक्ति तथा संघ, संस्थाले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । पुस्तकालय स्थापना र पुस्तक संकलनसँगै पुस्तकको प्रयोग गर्ने पाठक तयार पार्न पनि पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भइरहेको अध्यक्ष स्याङ्तानले बताउनुभएको छ ।










