हेटौंडाः मकवानपुर प्रहरीले २ फरक स्थानबाट सुरक्षाजाँच गरी २ सय ९ किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासँगै २ भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
बुधवार हेटौंडा–१५ बाट २ जना र हेटौंडा–१९ बाट लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार बिहान हेटौंडाबाट बारा जिल्लातर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्बरकोे भारतीय ट्रकलाई हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा सुरक्षाजाँच गर्दा ट्रकमा लुकाई राखेको १ सय ६९ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरीले गाडीका चालक भारत मोतिहारीका ३० बर्षीय रविन्द्र राय र सोहि स्थानका ३१ बर्षीय सहचालक मुक्तार सैफिकलाई पक्राउ गरी थप अनुसन्धान गरिहेको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यलय मकवानपुरले बुधवार नै मनहरीबाट हेटौंडातर्फ गर्दै आएको ना ६ क ३७४१ नम्बरको कन्टेनर गाडीलाई हेटौंडा–१९ नेवारपानीमा सुरक्षाजाँच गर्दा ४० किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासहित गाडीको सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को १९ बर्षीय दीपक गुरुङ रहेको डिएसपी रिमालले जानकारी दिनुभयो ।