Home खेलकुद बागमतीमा ग्रासरुट फुटबल प्रशिक्षण

बागमतीमा ग्रासरुट फुटबल प्रशिक्षण

फुटबल प्रशिक्षणमा सहभागी बालकहरु।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । गाउँपालिकामै फुटबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाकै बजेटमा ग्रासरुटबाट नै खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरिएको हो ।

खेल क्षेत्रको विकास गर्न खेलाडी उत्पादन मुख्य आधार रहेकाले विगतका वर्षहरुदेखि नै बजेट विनियोजन गरेर गाउँपालिकाअन्तर्गत्को खेलकुद विकास समितिलाई खेलाडी प्रशिक्षण कार्यक्रम गर्न निर्देशन दिइएकाले कार्यक्रमको सुरुवात भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले जानकारी दिनुभयो । जसका लागि आवश्यक आधारभूत खेल सामग्रीहरु गाउँपालिकाले नै उपलब्ध गराइरहेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले खेलाडी प्रशिक्षण तथा खेल सामग्री खरिद शीर्षकमा छुट्याएको बजेटअन्तर्गत् यसअघि नै प्रशिक्षण सुरु भइसकेको भएपनि कोरोनाका कारण रोकिएको प्रशिक्षण कार्यक्रम पुनः सुरुवात गरिएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पालिकाले प्रदान गरेको ६ लाख ४८ हजार रुपैयाँ बजेटबाट प्रशिक्षण तथा यसका लागि आवश्यक खेल सामग्री खरिद गरिएको र आगामी आर्थिक वर्षमा समेत बजेट विनियोजन भएकाले आगामी आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

खेल क्षेत्रको विकास गर्ने लक्ष्यअनुसार गाउँपालिकामै प्रशिक्षक नियुक्ति गरिएको अध्यक्ष राईले बताउनुभएको छ । एन्फाबाट सी ग्रेड लाइसेन्स प्राप्त प्रशिक्षक चुनबहादुर पाख्रिनले बालबालिकाहरुलाई प्रशिक्षण प्रदान गरिरहेको उहाँको भनाई छ । हाल कोरोना संक्रमणको अवस्था केही कम भएकाले प्रशिक्षण सुरु गरिएको भन्दै झुरझुरे क्षेत्रका २५-३० जना बालबालिकामात्र प्रशिक्षणमा सहभागी रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

आगामी दिनमा सम्भावना बोकेका खेलाडीहरुलाई एकै स्थानमा राखेर ६÷७ महिनासम्म प्रशिक्षण प्रदान गर्ने योजना रहेको पनि अध्यक्ष राईले बताउनुभयो । बागमती गोल्डकप प्रतियोगिताको समयमा भने ठूला खेलाडीहरुलाई पनि गाउँपालिकाले नै प्रशिक्षण प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

Exit mobile version