हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बजेट सर्वसम्मतले पारित भएको छ । बिहीबार गाउँपालिकाको सातौं गाउँसभाको बन्द सत्रमा भएको भेलाले गाउँपालिकाले प्रस्तुत गरेको ६५ करोड ४१ लाख ९९ हजार रुपैयाँको बजेट पास गरेको हो ।

गाउँसभाको भेलाले आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन र विनियोजन ऐन पनि पास गरेको छ । यस्तै गाउँपालिकाका लागि थप २ वटा ऐनहरुलाई गाउँपालिकाले पास गरेको छ । गाउँसभामा प्रस्तुत भएको वन ऐन र वातावरण तथा विपद् व्यवस्थापन ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष राना आफै संयोजक रहनुभएको न्यायिक समितिको प्रतिवेदन गाउँसभामा पेश भई पारित भएको उहाँले बताउनुभयो ।