हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई ३ वटा डायलासिस मेसिन सहयोग गरेको छ । बिहिबार अस्पताल परिसारमा एक कार्यक्रमको आयोजना गर्दै रोटरी क्लब अफ मकवानपुरले डायलासिस मेसिनसँगै ३ वटा बेड र आवश्यक स्वास्थ्य सामाग्री समेत अस्पताललाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको उपस्थितिमा रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई डायलासिस मेसिन हस्तान्तरण गरेको हो । ४५ लाख रुपैयाँ बराबरको लागतमा डायलासिस मेसिन, बेड तथा थप स्वास्थ्य सामाग्री खरिद गरिएको रोटरी क्लब अफ मकवानपुरका वर्ष २०२१–०२२ का अध्यक्ष सुन्दर कुमार जोशीले जानकारी दिनुभयो । मेसिन खरिदका लागि धर्मकाँटा व्यवस्थापन समिति हेटौंडा नगर कमिटीको अगुवाईमा १६ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालमा थप २ वटा डायलासिस मेसिन संचालन गर्न उपमहानगरपालिकाले तयारी गरिरहेको मेयर हरिबहादुर महतले बताउनुभएको छ । उपमहानगरपालिकाले अस्पतालको लागि थप २ वटा डायलासिस मेसिन खरिद प्रक्रिया अगाडी बढाईसकेको पनि उहाँले जानकारी दिनुभयो । अस्पतालको लागि आवश्यक सहयोग प्रदान गर्न उपमहानगरपालिका सधै तयार रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थप ३ वटा डायलासिस मेसिन सहयोग प्राप्त भएपछि हेटौंडा अस्पतालमा ८ वटा डायलासिस मेसिन भएको छ । हालसम्म ४ वटा मेसिन संचालन गरी सेवा प्रदान गर्दै आइरहेकोमा आइतबारबाट भने ६ वटा मेसिन संचालन गरिने हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । २ वटा मेसिन भने ब्याकअपको लागि राखिने उहाँले बताउनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा युनिलिभर नेपालबाट २ वटा, शिवम् सिमेन्टबाट १ वटा र उपमहानगरपालिकाले नै २ वटा गरि ५ वटा डायलासिस मेसिन अस्पताललाई प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दर कुमार जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा असिस्टेण्ड गभर्नर नारायण प्रधान, निबर्तमान अध्यक्ष कविन संगामी, जीएसआर सिद्धिलाल श्रेष्ठ, पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा, खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका अध्यक्ष प्रताप विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।