Home मुख्य समाचार बागमती प्रदेशको यी रुटहरुमा चल्नेछ विद्युतीय बस

बागमती प्रदेशको यी रुटहरुमा चल्नेछ विद्युतीय बस

विद्युतीय बस

हेटौंडाः वि.सं. २०८५ सम्म पेट्रोल तथा डिजेलमा निर्भर यातायातलाई विस्थापन गर्ने नीतिअनुसार बागमती प्रदेश सरकारले पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्दैछ । आगामी साउन महिनामा प्रदेश सरकारले बस खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ । विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले २ वर्षदेखि बजेट विनियोजन गर्दै आएको हो ।

प्रदेश सरकारले पहिलो चरणमा १० मिटरदेखि १०.५ मिटरसम्मको सिटीबस र ८.५ देखि ९ मिटरसम्मको सिटीबस खरिद गर्ने भएको हो । २० वटा सिटीबस र १० वटा कोचबस खरिदको टेन्डर गर्ने तयारी अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्य शहरहरुमा विद्युतीय बसहरु सञ्चालन हुनेछन् । पहिलो चरणमा खरिद गरिने ३० वटा विद्युतीय बसहरु आगामी २०७९ सालको जेठ महिनासम्म आइपुग्नेछ । २० वटा सिटीबसमध्ये चितवनको भरतपुर–मनहरी–हेटौंडा सम्मको रुटमा ८ वटा बस चल्नेछ । त्यस्तै काठमाडौं चक्रपथमा १२ वटा सिटीबस चल्नेछ । यता कोचबस भने काभ्रेको धुलिखेल–काठमाडौं–भरतपुर हुँदै हेटौंडासम्मको रुटमा दुईवटामात्र चल्नेछ । धुलिखेल–काठमाडौं–भरतपुरसम्मको रुटमा ४ वटा कोचबस, काठमाडौ–गल्छी–बिदूर बसपार्कसम्मको रुटमा ४ वटा कोचबस सञ्चालन गर्ने तयारी प्रदेश सरकारको छ ।

प्रदेश सरकारले विद्युतीय बसलाई चार्जिङ गर्न १५ वटा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । साउनमा टेन्डर भएसँगै १५ वटा विद्युतीय सवारी चार्जिङ मेशिन यही वर्षको फागुनसम्म आइपुग्ने सचिव बरालले बताउनुभयो । हालसम्म चार्जिङ स्टेशन राख्न १२ स्थानमा सहमति भएको छ । प्रदेश सरकारले उपत्यकाको गोंगबु नयाँ बसपार्कमा २ वटा, चक्रपथमा ३ वटा, धुलिखेल बसपार्कमा एउटा, गजुरीमा एउटा, विदूर बट्टार बसपार्कमा एउटा, भरतपुर बसपार्कमा एउटा र हेटौंडाको २ स्थानमा चार्जिङ स्टेशन राख्न सहमति प्राप्त भएको जनाइएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले बागमती प्रदेशलाई १० वटा भेइकल चार्जर दिने भएको छ ।

आगामी आर्थिक वर्षमा दोस्रो चरणअन्तर्गत् प्रदेश सरकारले थप ५० वटा विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ । आगामी वर्षमा सरकारले विद्युतीय सवारी खरिद गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दोस्रो चरणमा प्रदेश सरकारले काठमाडौंको चक्रपथमा १४ वटा सिटीबस, धुलिखेल–कोटेश्वर–जमल–महाराजगञ्ज–चाहबिल–धुलेखल दुईतर्फी २० वटा थप सिटीबस सञ्चालन गर्नेछ । धुलिखेल–धादिङबेसीमा २ वटा, धुलिखेल–काठमाडौं–भण्डारा रुटमा २ वटा, हेटौंडा–गल्छी–विदूरसम्मको रुटमा २ वटा, धादिङबेसीदेखि भरतपुरसम्म २ वटा, गोंगबु बसपार्कदेखि बाह्रबिसेसम्म २ वटा थप कोचबस सञ्चालन गर्ने योजना रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ भित्रै बागमती प्रदेश सरकारले तेस्रो चरणमा काठमाडौंको चक्रपथमा ४ वटा सिटीबस, धुलिखेल–कोटेश्वर–जमल–महाराजगञ्ज–चाहबिल–धुलिखेल दुईतर्फी १० वटा, गोदावरी–बल्खु–जमल दुईतर्फी १६ वटा, दक्षिणकाली–बल्खु–जमल दुईतर्फी १६ वटा र पर्यटकीय सेवाका लागि भक्तपुर–मध्यपुर–पशुपति–स्वयम्भू–पाटनमा ८ वटा सिटीबस थप्ने योजना बनाएको छ । यसैगरी गोंगबु बसपार्कदेखि बाह्रबिसेसम्म थप ४ वटा कोचबस थपिनेछ । गोंगबु बसपार्कदेखि चौतारासम्म ४ वटा, सिन्धुली–हेटौंडा–भरतपुरसम्म २ वटा र काठमाडौं–चरिकोट–मन्थली–खुर्कोटसम्म ४ वटा विद्युतीय कोचबस थप गर्ने रणनीतिक योजना प्रदेश सरकारले लिएको छ ।

प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डमार्फत् सरकारले विद्युतीय बसलाई नियमन गर्ने भएको हो । बोर्डको ऐन भने बन्न बा“की रहेको छ । बोर्डको ऐनको मस्यौदा चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण हुने सचिव बरालले जानकारी दिनुभयो । बस सञ्चालन तथा कार्यविधि, मानव संशाधन व्यवस्थापन नियमावली (ड्राइभर तथा साहायक भर्ना कार्यविधि), मर्मत सम्भार कार्यविधि र वित्तीय साझेदारी कार्यविधि भने निर्माण हुन बाँकी छ ।

Exit mobile version