Home मुख्य समाचार अभिभावकले ध्यान दिए बालविवाहमा कमी आउने

अभिभावकले ध्यान दिए बालविवाहमा कमी आउने

गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरको मनहरीकी १६ वर्षीया सपना तामाङ (नाम परिवर्तन) प्रेममा पर्दछिन् । कक्षा ८ मा अध्ययनरत उनी २४ वर्षको केटासँग भागेर विवाह गर्दछिन् । तर बालविवाह भएकाले उनलाई परिवार, वडाका प्रतिनिधि, बाल हेल्पलाइनलगायतको प्रतिनिधि मिलेर दुई पटकसम्म घर फर्काइन्छ । बालविवाह भएकाले उनी पुनः घरमा आउँछिन्, तर त्यसको केही महिनामै उनी सोही केटासँग तेस्रो पटकसम्म भागेर जान्छिन् । तीन पटकसम्म उनी भागेर गएपछि बालविवाह हुनबाट उनलाई रोक्न सकिएन ।

मकवानपुरमा बालविवाह धेरै हुने गरेको छ । जिल्लाको दुर्गम तथा सुगम ठाउँमा पनि बालविवाह हुने गरेको छ । सूचना मिलेको अवस्थामा बालविवाह रोक्न अधिकांश सफल भएको सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवाली बताउनुहुन्छ ।

‘भागेर जान्छन्, २० वर्ष उमेर पूरा भएकै हुँदैनन्’, बाल हेल्पलाइन प्रमुख ज्ञवालीले भन्नुभयो– ‘यसो गर्नुहुन्न भन्दा मर्छु भनेर उल्टै परिवारलाई धम्की दिने गरेका छन् ।’ अज्ञानता, लहलहै तथा जोशिएर बाल विवाह गरेकाहरु अधिकांशले पछि पछुतो मान्ने गरेको ज्ञवालीले बताउनुभयो । उमेर परिपक्क नहुँदा गरिएको विवाहले पछुतो मान्नुभन्दा बालविवाह नगर्नु उचित हुने ज्ञवालीको भनाई छ । अभिभावकहरुले थोरैमात्र छोराछोरीलाई ध्यान दिन सकेमा बालविवाहमा कमी आउने उहाँको अनुमान छ ।

त्यसो त मकवानपुरको भीमफेदी गाउँपालिकाकी १७ वर्षकी कल्पना थापा (नाम परिवर्तन) १८ वर्षको केटासँग भागेर विवाह गर्छिन् । अन्तरजातीय विवाह गरेकी उनको एक बच्चा छ । बालविवाह भएको उनको ३ वर्षपछि नै वैवाहिक जीवनमा खटपट हुन्छ । उनी अहिले माइतमै बस्छिन् । कक्षा ९ मा पढ्दापढ्दै भागेर विवाह गरेकी उनी माइतीघरमै खेतीपाती गरेर अहिले बस्छिन् ।

यस्ता धेरै प्रकृतिको बालविवाह हुने गरेको बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । अधिकांश बालबालिकाको गल्ती भएपनि बालविवाह हुनुमा परिवारको पनि गल्ती देखिन्छ । अभिभावकहरुले आफ्नो बालबच्चा के गर्दैछन् भनेर वास्ता नगर्दा यस्तो हुने गरेको उहाँले बताउनुभयो । अधिकांश बालविवाह परिवारको चेतनाको स्तर कम हुँदा हुने गरेका छन् । सामान्य, मध्यम र ठूला बुझेका परिवारमा पनि बालविवाह भइरहेका छन् ।

यो वर्षमा मात्रै मकवानपुरमा ६० वटा बालविवाह भएको तथ्यांकमा छ । यस्तै चितवनमा ७, रामेछापमा १, काभ्रेपलाञ्चोकमा २, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा ३, ललितपुरमा २, काठमाडौंमा ६, दोलखामा १ र भक्तपुरमा २ बालविवाह भएको बाल हेल्पलाइन मकवानपुरका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

Exit mobile version