Home खेलकुद मकवानपुरका ४ पालिकाको बजेटमा खेलकुदः रकम नै नखुलाई योजनामात्र

मकवानपुरका ४ पालिकाको बजेटमा खेलकुदः रकम नै नखुलाई योजनामात्र

हेटौंडाः मकवानपुरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरेका योजनामा खेलकुदलाई प्राथमिकतामा राखिएको छ । बजेट कार्यक्रममा खेलकुदका योजनाहरु उल्लेख्य मात्रामा प्रस्तुत भएपनि कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि बजेट रकम भने निर्धारण गरिएको छैन ।

जिल्लाका ४ स्थानीय तहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा खेलकुदका कार्यक्रमहरुलाई प्राथमिकताका साथ राखिएको छ । गाउँपालिकाहरुले खेल क्षेत्रको विकासका लागि योजनाहरु तयार पारे पनि बजेट रकम निश्चित नगर्दा उक्त योजनाहरु नीति तथा कार्यक्रमको किताबमै मात्र सिमित हुने हो कि कार्यान्वयन पनि हुन्छ भनेर अन्यौलता रहेको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा क्षेत्रीयस्तरको रंगशाला निर्माणदेखि मनहरी गोल्डकप आयोजना गर्ने योजनाहरुलाई अगाडि सारेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले प्रस्तुत गर्नुभएको ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँको बजेट कार्यक्रममा युवा तथा खेलकुद कार्यक्रमअन्तर्गत् पहिलो योजनाको रुपमा संघ तथा प्रदेश सरकारको समेत लगानीमा वडा नं. ७ रमौलीमा क्षेत्रीयस्तरको मदन भण्डारी स्मृति रंगशाला निर्माण कार्यलाई संघ तथा प्रदेश सरकारस“गको समन्वयमा अगाडि बढाइने उल्लेख गरिएको छ । यस्तै गाउँपालिकास्तरीय खेलकुद विकास समितिको संस्थागत विकास गरी समग्र खेलकुद विकास कार्यक्रम उक्त समितिमार्फत् खेलकुदसम्बन्धी योजना तर्जुमा गरी कार्यान्वयनमा समन्वय र सहकार्य गरिने जनाइएको छ ।

गाउँपालिकामा विभिन्नस्तरको फुटबल तथा अन्य खेलकुद प्रतियोगिता घोषणा गरी प्रतियोगिता आयोजना गरिने पनि बजेट कार्यक्रममा उल्लेख छ । जसअन्तर्गत् गाउँपालिकामा प्रत्येक वर्ष सञ्चालन भइरहेको अध्यक्ष कप र उपाध्यक्ष गोल्डकप फुटबल प्रतियोगितालाई मनहरी गोल्डकपको रुपमा यसै वर्षदेखि सञ्चालन गरिने भएको छ । तर यतिका खेलकुदका योजनाहरुलाई पूरा गर्नका लागि कति रकम आवश्यक छ र कति रकम छुट्याइएको छ भन्ने विषयमा कुनै उल्लेख छैन ।

यसैगरी बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासमार्फत् गाउँँपालिकालाई जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन आवश्यक खेलकुद कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । जसका लागि खेलाडीहरुको आवश्यक क्षमता विकासमा जोड दिइने बजेट कार्यक्रममा उल्लेख छ । गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेद्वारा प्रस्तुत ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट कार्यक्रममा गाउँपालिकास्तरीय खेलकुद विकास समितिलाई व्यवस्थित गरिने, गाउँपालिकास्तरीय कभर्ड हलको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने जनाइएको छ । यस्तैै खेलाडीहरुका लागि आवश्यक प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिने पनि उल्लेख छ ।

पालिका क्षेत्रमा खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी अघि बढ्ने, गाउँँपालिकामा सञ्चालन हुने बकैया कप फुटबललाई निरन्तरता दिइने साथै फुटबल, भलिबल, क्रिकेट, कराँते, व्याडमिन्टनजस्ता खेलहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको हात्तीसुँँडेस्थित गाउँपालिकास्तरीय रंगशालालाई आवश्यक सुधार गर्दै लगिने, एक वडा एक खेलमैदान निर्माण कार्यलाई निरन्तरता दिइने पनि योजनामा राखिएको छ ।

यस्तै महत्वपूर्ण योजनाको रुपमा जिल्लाका अन्य स्थानीय तहहरुसँगको लागत साझेदारीमा सञ्चालन हुँदै आएको स्थानीय तह शहीद स्मृति फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप कार्यक्रमका लागि गरिने लागत साझेदारीलाई निरन्तरता दिइने उल्लेख छ । गाउँपालिकाले खेलकुदको क्षेत्रलाई कायापलट गर्ने उद्देश्यका साथ सबै खेलाडी तथा खेलपे्रमीहरुको मन जित्ने योजनाहरु बनाएपनि कार्यान्वयनका लागि रकम निर्धारण नगर्दा योजनाहरु कत्तिको पूरा हुन्छ त्यो भने हेर्नका लागि सारा बकैयाबासी तत्पर रहेका छन् ।

उत्तरी मकवानपुरमा रहेको थाहा नगरपालिकाले भने खेलकुदका योजनाहरुलाई बेवास्ता गरे झैं देखिएको छ । नगरपालिकाका उपमेयर खड्ग गोपालीले प्रस्तुत गर्नुभएको ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको कार्यक्रममा युवा जमातलाई खेलकुदको माध्यमबाट अनुशासित बनाउन नगर क्षेत्रमा विभिन्न खेलको आयोजना गर्ने कार्यलाई निरन्तरता दिइने जनाइएको छ । यसैगरी सबै पालिकाको सहकार्यमा सञ्चालन हुँदै आएको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख छ । उक्त कार्यक्रमका लागि न त बजेट रकम उल्लेख छ, न त अन्य खेलकुदका कार्यक्रमहरु नै समावेश गरिएका छन् ।

मकवानपुरगढी गाउँपालिकास्तरीय खेलकुद विकासका कार्यक्रम आयोजना गर्न तथा खेल क्षेत्रको विकासका लागि पायक पर्ने स्थानको छनोट गरी आधारभूत मापदण्डसहितको गाउँपालिकास्तरीय खेलमैदान निर्माण गरिने जनाएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजित ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेटको कार्यक्रममा प्रत्येक वडामा एक/एक वटा वडास्तरका खेलकुद मैदानको निर्माणको सुरुवात गत आर्थिक वर्षबाट नै गरिएकाले मापदण्ड अनुसारको निर्माण गर्न सकिने अवस्था हेरी थप रकम विनियोजन गरिने जनाइएको छ ।

यसैगरी गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन तथा आवश्यक नीति तयार गरी खेलकुद विकासको कार्यक्रम सञ्चालन गरिने, समितिमार्फत् सञ्चालन हुने खेलकुदको कार्यक्रम सञ्चालन गर्न खेलकुद क्यालेन्डर निर्माण गरी सोहीअनुसार खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिनेजस्ता महत्वपूर्ण योजना गाउँपालिकाले बनाएको छ । खेलमा उत्कृष्ट हुने सम्भावना बोकेका खेलाडीहरुलाई स्तर विकासका लागि आवश्यक सहयोग पुर्‍याइने नीति पालिकाले ल्याएको छ । सोही नीतिलाई अवलम्बन गरेर अगाडि बढ्ने र विषयगत खेलको गाउँपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिता आयोजना व्यवस्थितरुपमा सञ्चालन गराइने पालिकाले जनाएको छ । जसका लागि स्थानीय तहकप रनिङशिल्ड, राष्ट्रिय र जिल्लास्तरीय प्रतियोगिता सञ्चालनमा सहभागिता जनाई खेल क्षेत्रलाई प्रवद्र्धन र विकास गरिने भएको छ ।

खेलकुदको उर्वरभूमिको रुपमा रहेको मकवानपुर जिल्लाका विकट स्थानहरुमा रहेको खेलकुदमा प्रतिभा भएका खेलाडीहरुलाई अगाडि बढ्ने अवसर प्रदान गर्न तथा नयाँ प्रतिभाहरु उत्पादन गर्नका लागि जिल्लाका स्थानीय तहहरुले खेलकुदको क्षेत्रमा बनाएका योजनाहरु साँच्चै नै प्रशंसायोग्य छ र तर प्रशंसा गर्नका लागि भने यी सम्पूर्ण योजनाहरु पूरा हुनु पनि आवश्यक छ । योजनाअनुसार बजेट रकम पनि पहिल्यै निर्धारण गरिएको भए खेलकुद विकासका काम पूरा गर्न सहज हुनेथियो ।

Exit mobile version