हेटौंडाः जननेता मदन कुमार भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा हेटौंडा–९ मा मदन–आश्रितको शालिक अनावरण गरिएको छ । हेटौंडा–९ स्थित दिव्य बालउद्यानमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन कुमार भण्डारी तथा जीवराज आश्रितको अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गर्नुभएको हो ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीको सम्झनामा सोमबार पार्क व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पौडेलद्वारा शालिकको अनावरण गरिएको हो । अनावरणपछि मुख्यमन्त्री पौडेलले पार्कमा वृक्षरोपण समेत गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले पार्कको अवलोकन गर्नुहुँदै खुसी व्यक्त गर्नुभयो । पार्क निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै पार्कमा ६ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्नुभएका गोर्खा लाहारीका प्रवन्ध निर्देशक बजरंग सिंहले सो फाउन्टेन पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत वडाका समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।