Home मुख्य समाचार कोरोना कहरमा शैक्षिक सत्र २०७८ को शुरुआत हुँदै गर्दाका शिक्षक विद्यार्थी

कोरोना कहरमा शैक्षिक सत्र २०७८ को शुरुआत हुँदै गर्दाका शिक्षक विद्यार्थी

वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१) थोरै पछाडि फर्किंदा
कोभिड–१९ को कारणले गत शैक्षिक सत्र–२०७७ लथालिङ्ग भएकै हो । अनलाईन पढाउने प्रयत्न धेरै भए । विपदकालिन शिक्षाको कुनै तयारी थिएन । सरकारले ढिलै भए पनि वैकल्पिक सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरी टिभि, रेडियोबाट नियमित शिक्षण प्रसारण गरी आफ्नो उपस्थिति देखाएको थियो । कोरोना कहरको महामारीमा देशव्यापी अनलाईन, अफलाईन, सम्पर्क कक्षा, होम भिजिट , टोल टोलमा कक्षा समेतका प्रयासहरु गरिएकै हुन् । कोर्स पूरा गर्ने अभिप्रायले २ महिना थप्ने सरकारी निर्णयले कुनै उपलब्धिमूलक काम गरेन ।

देशका धेरैजसो ठाउँमा मंसिरबाट शिक्षण संस्थाहरुमा भौतिक रुपमै कक्षाहरु सञ्चालन भए तापनि काठमाडौं उपत्यका भित्र भने माघ महिनाबाट मात्र भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको जगजाहेर छ । २०७८ सालको वैशाखको आधा नबित्दै दोश्रो लहरको कोरोना भाईरसको महामारीले सबै शिक्षण संस्थाहरु हठात बन्द गर्नुपर्ने बाध्यता उत्पन्न भयो । शिक्षण सिकाई त अधुरै रह्यो नै, वार्षिक परीक्षा समेत पूरा हुन पाएन । यसै असहजताको बीचमा अर्धवार्षिक परीक्षा, त्रैमासिक परीक्षा, हाजिरी, कक्षाकार्य, गृहकार्य, अनुशासन जस्ता आधारमा नतिजा प्रकाशन गर्ने कार्य सकिएको छ ।

२) केहि अपेक्षा
शैक्षिक सत्रको निरन्तरतामा गत वर्ष झैं यस वर्ष पनि शंका र चर्चा शुरु भएको छ । सरकारले औपचारिक रुपमा घोषणा गरिसकेको सन्दर्भमा यो असारबाटै शैक्षिक सत्र शुरु गर्न उचित वा अनुचित तर्फको तर्क बितर्क तर्फ जाने यो आलेखको उद्देश्य होईन । तैपनि नीजि स्कूलहरुको स्वार्थसँग यो बढि जोडिएको कुरा भने छुटाउन नमिल्ला । बिगतको असहजता र विषमता अनि कोरोना कहरबाट शिक्षा लिएर सम्भाव्य महामारीको चुनौति सामना गर्न सरकारले विपदकालिन शैक्षिक योजना बनाउनै पथ्र्यो । प्रविधिसँग शिक्षालाई जोड्नै पथ्र्यो । अन्य कतिपय खर्च कटाएर पनि अनलाईन शिक्षालाई प्रभावकारी बनाउने तर्फ ईन्टरनेट सेवाको पहुँच र बिस्तार, बिजुलीको उपलब्धता, सिकाई पोर्टलको व्यवस्था, मोवाईल फोन, ल्यापटपसँगै प्राविधिक सीप विकासमा लगानीका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा यसतर्फ रत्तिपनि चासो र गम्भीरता देखिएन । यो हाम्रो शिक्षा प्रणालीकै दूर्भाग्यको निरन्तरता स्विकार्नै पर्छ ।

३) वर्तमानको यथार्थता
कोरोना विरुद्धको खोपमा राज्यले बेवास्ता गरेकै परिणामस्वरुप लगभग २०० जना शिक्षक, प्राध्यापकहरुले जिवन गुमाउन बाध्य बनेको अवस्था छ । स्कूलमा ईन्टरनेट सुविधा सहज उपलब्ध गराउनेतर्फ सरकारले ध्यानै दिएन । उल्टो व्यापारीलाई लुटको अवसर दिएर रमिते बनेको छ । नीजि शिक्षण संस्थाका अधिकांश अभिभावकले आफ्ना बालबालिकाका लागि ल्यापटप तथा मोवाईल फोनको व्यवस्थासहित ईन्टरनेट सेवा र आफैँसँगै बसेर निगरानीपूर्ण शिक्षण सिकाईमा जोडिएको देखिन्छ । तर सरकारी शिक्षण संस्थाका अधिकांश अभिभावक यो क्षमता राख्दैनन् । नगरपालिकामा त बिजुली नियमित छैन । ईन्टरनेट सेवा सहज छैन । गाउँमा त झनै फोनको टावर भेट्न घर छाडेर एकाध घण्टा हिँडेर खोज्नुपर्ने अवस्था छ ।

अर्को समस्या विद्यार्थीमा मात्र हैन शिक्षकमा समेत प्रविधि प्रयोग गर्ने सीप पर्याप्त छैन । यसबेला अनलाईन कक्षाको चर्चा शिक्षामा व्यापक सुनिन्छ तर आवश्यक वातावरणको अभाव बारे ध्यान पुगेको छैन । शिक्षक–विद्यार्थीमा अनलाईन कक्षा अनुशासन ज्यादा फितलो देखिन्छ । बस्ने स्थान, बसेको तरिका, ड्रेस कोड, अडियो भिडियोको दुरुपयोग र विषयवस्तु भन्दा फाल्तु गफ गरेर समयको बर्बादीले दिक्क बनेको स्वयम् सहभागी शिक्षक–विद्यार्थीको अनुभव बाहिर आएको छ । तैपनि उपयुक्त विकल्पको अभावमा यो बाध्यता स्विकारेको सरोकारवालाहरुको भनाई सुनिन्छ ।

४) सम्भावनाहरु के के होलान ?
समग्र परिस्थिति प्रतिकूल छ । यसो भन्दैमा चुप बस्ने स्थिति पनि छैन । कम्तिमा शैक्षिक गतिविधि चलेको भन्ने बनाउनु छ । महामारीको बावजुद पनि यो अवधिमा विद्यार्थीले केहि न केहि सिक्ने स्थिति हुनुपर्छ । शिक्षकहरु कुनैपनि माध्यमबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापसँग जोडिनै पर्दछ । कक्षाकोठामा भौतिक उपस्थितिमा हुने शिक्षणको अतिरिक्त सम्भाव्य विकल्पहरु के के होलान् ?

क) अनलाईन कक्षाः बिजुली पुगेको र ईन्टरनेट सेवा उपलब्ध भएसम्म अनलाईन कक्षा पहिलो प्राथमिकता बन्नै पर्दछ । बिजुली र ईन्टरनेटको पहुँच र बिस्तारमा स्थानीय सरकारले जिम्मेवारी लिनै पर्दछ । शिक्षण सिकाईमा शिक्षक–विद्यार्थीले अनलाईन शिक्षाको अनुशासन कडाईका साथ पालना गर्नै पर्दछ । अभिभावकको विशेष निगरानी जरुरी छ ।

ख) शैक्षिक टिभि च्यानलको संचालनः यो अर्को वैकल्पिक विधि हो । नगर तथा गाउँपालिकाको स्तरबाट पहल गरिनुपर्ने महत्वपूर्ण शैक्षिक काम नै टिभिमा शैक्षिक च्यानल हो । सम्बन्धित पालिकाकै विज्ञ शिक्षकहरुको संयोजनमा टिभिबाट कक्षासंचालनको प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सकिन्छ । विद्यार्थी मूल्यांकनको काम सम्बन्धित शिक्षकहरुबाट गर्न गराउन पर्दछ ।

ग) फोन ईन कार्यक्रमः कम विद्यार्थी संख्यामा समूह बनाएर वा सिधै विद्यार्थीसँग जोडिन यो पनि केहि उपयोगी माध्यम बन्न सक्छ । यो विधिमा पनि विद्यार्थीले शिक्षकसँग समस्या राख्न सक्छन् । शिक्षकले पनि राम्रोसँग बुझाउन सक्छन् । पछिल्लो समयमा नेपाल टेलिकमले सियुजी (क्लोज्ड युजर ग्रुप) सिम यहि अवधिलाई लक्षित गरी ल्याइएको कार्यक्रम भनिएको छ । प्याकेजमा लिँदा सस्तो पर्ने विद्यार्थीका लागि भनिएको यो सिममा आकर्षण भने अत्यन्त न्यून देखिएको छ ।

घ) मेसेञ्जर ग्रुप निर्माणः यो अर्को विधि हो । यसमा विद्यार्थीको समुह बनाएर शिक्षकले सामग्री दिन सक्छन् । विद्यार्थीले पनि आफूले तयार गरेको उत्तर करेक्शन गराउने अवसर पाउ“छन् ।

ङ) सम्पर्क कक्षाः प्रविधिको सहजता नभएको अवस्थामा सम्पर्क कक्षा संचालन गर्न सकिन्छ । विद्यार्थी तथा शिक्षकसँग ईन्टरनेट सुविधा नहुँदा यो नै उत्तम विकल्प बन्न सक्छ । भौतिक रुपमा नै उपस्थित गर्ने गराउने भएकाले स्वास्थ्य सावधानीका उपायहरु कडाईका साथ पालना गर्नै पर्दछ । यसो गर्दा एक सातामा एकपटक एउटा मात्र कक्षाका विद्यार्थी बोलाएर अर्थात पालो प्रणाली लागू गरी मुल विषयको मात्र कक्षा लिन सकिन्छ । कम विद्यार्थी एकाध घण्टामात्र राख्दै प्रश्नोत्तर र समस्या समाधान विधिबाट शिक्षण गर्न सकिन्छ । विद्यार्थीको समस्या हल गर्ने र अर्को साताका लागि गृहकार्य दिने काम यस विधिमा गरिन्छ ।

अन्तमा, भौतिक उपस्थितिमा जस्तो कक्षाको प्रभावकारिता अन्य माध्यमबाट हुन नसक्ने तथ्य सावित भैसकेको छ । तै पनि शैक्षणिक गतिविधिको निरन्तरता सबैको चासो र सरोकारको विषय बनेको छ । हालका दिनहरुमा कोरोना भाईरस संक्रमण दर घटेको देखिन्छ । त्यस्तै मृत्यु संख्यामा पनि धेरै नियन्त्रण भएको देखिन्छ । तैपनि ढुक्क हुने अवस्था छैन । सबैले सावधानी अपनाउनै पर्दछ । परिक्षणको दायरा व्यापक गराउनु पर्ने आवाज उठेको छ । आम नागरिकलाई खोपको अनिवार्य व्यवस्थाको माग गरिएको छ । शिक्षकहरु त बिना खोप कक्षा नजाने भन्दै आएका छन् । कतिपय जिल्लामा शिक्षक प्राध्यापकलाई खोपको व्यवस्था भै सकेको समाचार पनि बाहिर आएको छ । बाँकीेमा पनि अबिलम्व खोप दिईयोस् भन्ने सशक्त आवाज बढिरहेको छ । खोप उपलब्ध भै सकेपछि शिक्षक प्राध्यापकहरु केहि निर्धक्क बनेर शिक्षण सिकाईमा वैकल्पिक वा भौतिक उपस्थितिमै पनि शिक्षण सिकाईमा जोडिन आतुर भएका छन् ।

(लेखक हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)

Exit mobile version